सिरहा । महिलामा हुने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने उद्देश्यले सिरहामा किशोरी लक्षित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सञ्चालन गरिने भएको छ ।

खोप अभियानको तयारीस्वरूप मंगलबार सिरहा नगरपालिकामा पालिकास्तरीय खोप समन्वय समितिद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिरहा नगरपालिकाका जनस्वास्थ्य अधिकृत विन्देश्वर यादवले सिरहा नगरपालिकामा एचपिभी खोप अभियान माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरिने जानकारी दिए ।

स्वास्थ्य कार्यालय सिरहाकी खोप सुपरभाइजर निरीक्षक सुनिता कँडेलका अनुसार अभियान दुई चरणमा सञ्चालन गरिनेछ । पहिलो चरणमा जिल्लाका १७ पालिकामध्ये आठवटा पालिकामा माघ २५ देखि फागुन २ गतेसम्म खोप लगाइनेछ भने दोस्रो चरणमा फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

नेपाल सरकारको मापदण्डअनुसार नियमित खोप कार्यक्रमअन्तर्गत गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत किशोरी खोपबाट छुटेका थिए । यस वर्ष ती सबैलाई समेट्ने गरी सामुदायिक तथा संस्थागत विद्यालय, नियमित खोप केन्द्र तथा त्यहाँबाट पनि छुटेकालाई सम्बन्धित स्वास्थ्य संस्थामार्फत खोप लगाइने योजना रहेको कँडेलले बताइन् ।

सिरहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मनोज कुमार कैवारका अनुसार खोप अभियानको मुख्य लक्षित समूह सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षसम्मका किशोरीहरू हुन् । साथै गत वर्ष ११ देखि १४ वर्ष उमेर समूहका छुटेका किशोरीहरूलाई पनि यस पटक खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार गत वर्ष सिरहा नगर क्षेत्रमा करिब दुई प्रतिशत छात्रा खोपबाट बञ्चित भएका थिए ।

पालिकास्तरीय खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख डा. नवीन कुमार यादवले महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको उल्लेख गर्दै यसको रोकथामका लागि सञ्चालन गरिएको खोप अभियान सफल बनाउन सबै सरोकारवाला पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय