काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई औपचारिक रूपमा मान्यता दिएको छ । आयोगले शुक्रबार थापालाई नेपाली कांग्रेसको सभापतिका रूपमा आधिकारिकता प्रदान गरेको हो ।
बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि केन्द्रीय समितिले गरेका निर्णयसहित बिहीबार निर्वाचन आयोगमा आवश्यक कागजात पेश गरिएको थियो । आयोगले ती सबै कागजातको सूक्ष्म अध्ययन तथा कानुनी परीक्षणपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक मान्यता दिएको जनाएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । उक्त महाधिवेशनबाट पार्टी नेतृत्वमा परिवर्तन आएको भन्दै यसलाई कांग्रेसको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ ।
आयोगको मान्यतासँगै गगन थापा नेतृत्वको कांग्रेसले पार्टीगत गतिविधि, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशालाई औपचारिक रूपमा अघि बढाउने बाटो खुलेको छ ।




