राजविराज । सप्तरीमा हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा गस्ती गरिरहेको भिडियो सार्वजनिक भएपछि सीमाको सुरक्षा र निगरानीप्रति गम्भीर प्रश्न उठेको छ। सोमबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भारतको सीमा सुरक्षा बल (एसएसबी) का सहायक उपनिरीक्षक (एएसआई) टीसेरिङ नोर्बोको नेतृत्वमा पाँच जनाको टोली राजविराज भन्सार कार्यालय अगाडिको मुख्य सडकमा देखिन्छ।

भिडियोमा एएसआई नोर्बो हतियार बोकेको अवस्थामा छन् भने अन्य चार जना सुरक्षाकर्मी लाठीसहित देखिन्छन्। सो स्थानबाट पूर्वतर्फ करिब ५ सय मिटर दूरीमा नेपाल प्रवेश गर्ने चेकपोइन्ट छ भने पश्चिमतर्फ ३ सय मिटरमा बोर्डर आउट पोस्ट (बीओपी) तिलाठी रहेको छ। सोही क्षेत्रबाट करिब २ सय मिटरको दूरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली जाँचमा खटिएको भए पनि भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमिमा प्रवेश गर्दा उनीहरू बेखबर रहेको बताइएको छ।

बीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले भारतीय सुरक्षाकर्मी भारततर्फकै दशगजामा गस्ती गरिरहेको र खोलो पार गर्न नेपालतर्फको पुल मात्र प्रयोग गरेको दाबी गरे।
‘बिहानदेखि नै हामीले संयुक्त रूपमा दशगजामा थुपारिएका गुइँठा, पराल र दाउरा हटाउने काम गरेका थियौँ,’ उनले भने, ‘कानुनअनुसार हतियार बोकेर नेपाली भूमिमा प्रवेश गर्न नमिल्ने भए पनि व्यवहारिक रूपमा उहाँहरूले पुल प्रयोग गरेर भारततर्फ फर्किनुभयो।’

तर हतियारसहित नेपाली भूमिबाट आवतजावत गर्दा सम्बन्धित निकायलाई कुनै जानकारी नदिइएको कुरा उनले स्वीकार गरे। यस घटनाबारे प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले प्रहरीसँग आवश्यक जानकारी लिएर छानबिन गरिने बताए।

घटनाले सीमामा नेपाली सुरक्षा संयन्त्रको प्रभावकारिता, समन्वय र सार्वभौमिकतासम्बन्धी विषयमा गम्भीर चिन्ता थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय