सिरहा । उज्यालो फाउण्डेशनद्वारा सञ्चालित शि–लीड्स नेतृत्व संस्थान (SheLeads Leadership Institute) अन्तर्गत पहिलो समूह (Cohort–01) को पाँच दिने नेतृत्व तालिम सिरहाको मिर्चैयामा सञ्चालन भइरहेको छ।

उर्सुला जिन्डेल हिल्टी फाउण्डेशनको सहकार्यमा आयोजना गरिएको उक्त तालिम २६ मंसिरदेखि १ पौष (१२–१६ डिसेम्बर २०२५) सम्म मिर्चैयास्थित रामजानकी होटल एण्ड पार्टी प्यालेसमा सञ्चालन भइरहेको हो। तालिममा गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ र ९ तथा कर्जन्हा नगरपालिका वडा नं. ४ र ५ का २० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्देश्य समुदायस्तरमा महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई कानुनी अधिकार, सामाजिक न्याय र स्थानीय शासनप्रति सचेत बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ। तालिमको पहिलो दिन सहभागीहरूलाई संस्थाको उद्देश्य, मूल्य र कार्यविधिबारे जानकारी गराइएको थियो।

तालिम उद्घाटन कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखरेल र वडा नं. ५ का वडा अध्यक्ष दीपक कुमार केसीको उपस्थिति रहेको थियो। उनीहरूले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सहभागीहरू थप उत्साहित भएको आयोजकको भनाइ छ।

तालिमका अन्य दिनहरूमा सामाजिक पहिचान र नेतृत्व क्षमता विकास, महिलाको नेतृत्वमा सामाजिक, जातीय, भाषिक तथा भौगोलिक पहिचानले पार्ने प्रभाव, हानिकारक परम्परागत अभ्यासहरूको पहिचान तथा ती अभ्यासविरुद्ध स्थानीय स्तरमा सचेतना फैलाउने उपायबारे प्रशिक्षण दिइयो। मधेश क्षेत्रमा प्रचलित हानिकारक परम्पराहरू, ती परम्परालाई प्रवर्द्धन गर्ने सामाजिक, सांस्कृतिक तथा पारिवारिक संरचनामाथि समूह छलफल गरिएको थियो।

महिलामाथि पर्ने प्रत्यक्ष प्रभावबारे अनुभव साझा गर्ने सुरक्षित छलफल चक्रले सहभागीहरूबीच सहानुभूति र एकता मजबुत बनाएको आयोजकले जनाएको छ। साथै, युवाहरूको नेतृत्वमा सञ्चालन हुने समुदाय–आधारित परियोजनाका प्रारम्भिक अवधारणाहरू पनि तयार पारिएको छ।

कानुनी सशक्तीकरण तथा गठबन्धन निर्माणसम्बन्धी सत्रमा सहभागीहरूलाई आफ्ना अधिकार के हुन् र ती अधिकार व्यवहारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल, कथा–आधारित सिकाइ, “My Rights, My Voice” क्विज तथा महिला तथा बालिकाविरुद्ध हुने हिंसासम्बन्धी उजुरी कहाँ र कसरी दर्ता गर्ने भन्ने जानकारी दिइयो। सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धता जनाउँदै समर्थन सञ्जालसमेत पहिचान गरेका छन्।

इमर्सन भ्रमण अन्तर्गत सहभागीहरूले कर्जन्हा नगरपालिकास्थित मुक्ती नेपाललगायत विभिन्न कार्यालयहरूको अवलोकन गरेका छन्। यस क्रममा महिला तथा बालबालिका शाखा, शिक्षा तथा खेलकुद शाखाको भूमिका, स्थानीय शासन प्रणाली र महिला नेतृत्वबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए।

तालिमको अन्तिम चरणमा समुदाय–आधारित पहल परियोजना डिजाइनअन्तर्गत समस्या पहिचान, उद्देश्य निर्धारण, परियोजना प्रस्तुति, टोली कार्य, बजेट निर्माण तथा आगामी कार्ययोजनाबारे अभ्यास गरिनेछ। सहभागीहरूले आफ्ना वडामा कार्यान्वयन गर्न सकिने ठोस र व्यवहारिक परियोजना योजना तयार गर्नेछन्।

उक्त पाँच दिने नेतृत्व तालिमले सहभागीहरूमा नेतृत्व क्षमता, कानुनी ज्ञान र समुदायस्तरमा सशक्तिकरणको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय