सिरहा । सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरूमा कृषि अनुदानमार्फत वितरण गरिने गहुँको विउँ मनपरी र पक्षपातपूर्ण तरिकाले वितरण गरिएको भन्दै स्थानीय किसानहरू र युवा अभियानकर्ताले आपत्ति जनाएका छन्। वितरण प्रक्रियामा पारदर्शिता नअपनाइएको र वास्तविक कृषकले विउँ नपाएको गुनासो बढेपछि जेनजी (GenZ) औरहीका संयोजक सन्तोष यादवले सबै किसानलाई समान पहुँच सुनिश्चित गर्न कडा माग गरेका छन्।

स्थानीयहरूका अनुसार केही व्यक्तिले मनपरी सूची बनाएर आफ्ना परिचितलाई मात्रै विउँ बाँडेको आरोप छ। अनुदानको नाममा समान रूपले वितरण गर्नुपर्ने सामग्री पहुँचविहीन किसानले नपाउँदा असन्तुष्टि चुलिएको हो।

संयोजक यादवले भने, “सरकारले ल्याएको अनुदान किसानसम्म नपुगेर बीचमै रोकिन्छ भने यसको कुनै अर्थ रहँदैन। कुनै समूह, दल वा व्यक्तिको आधारमा होइन, प्रत्येक वास्तविक किसानले सहजै गहुँको विउँ पाउनुपर्छ।”
उनले तत्काल सबै किसानको नाम संकलन गरेर समान मापदण्डमा आधारित वितरण प्रणाली लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यादवले वितरणमा अनियमितता देखिएको क्षेत्रको छानबिन गरी जिम्मेवारमाथि कारबाही गर्नुपर्ने माग पनि गरेका छन्।

यसैबीच, धेरै किसानले आगामी बाली रोपाइँ नजिकिँदै गर्दा विउँ नपाउँदा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले कृषि कृषि शाखाले पारदर्शी सूची सार्वजनिक गर्नुपर्ने र वितरण प्रक्रिया खुला रूपमा गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय