सिरहा । जनता समाजवादी पार्टी, नेपालले सिरहा सहित देशभरिका सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ।
२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आइतबार शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको हो।

जसपा नेपालको पुर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार तीन दिनदेखि लगातार देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन एवं धर्ना दिँदै आएको छ।
यसअघि जसपा नेपालले २८ बुँदे माग सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनको लागि देशब्यापी रुपमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ।
जसपा नेपालले संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनु पर्ने, राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गर्दै आएको छ।
यसैगरी, जेन–जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेन–जी विद्रोहलाई दवाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न उसले माग गरेको छ।
शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र ब्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाई, मल खाद, बिऊ– विजन, किट्नाषक औषधी र कृषि बजारको व्यवस्था गरिनु जस्ता माग जसपा नेपालले उठाएको छ।



