जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूह अध्यक्ष उपेन्द्र यादव पक्षका सांसदलाई आफ्नो कित्तातिर तान्ने प्रयासमा लागेको छ । यादव पक्ष सरकारमा सहभागी भएपछि असन्तुष्ट हुने सांसदहरूलाई आफ्नो पक्षमा तान्ने रणनीति ठाकुर समूहले अख्तियार गर्न लागेको हो ।
मन्त्रीका आकांक्षीको संख्या निकै देखिएपछि यादव समूहभित्र सरकार विस्तारसँगै असन्तुष्टि बढ्ने सम्भावना छ । त्यतिबेला सांसदहरूलाई आफ्नो पक्षमा पारेर ४० प्रतिशत पुर्याउने तयारीमा ठाकुर पक्ष देखिएको हो ।
त्यसको संकेत ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले पनि गरेका छन् । झाले कुराकानीमा भनेका छन्, ‘आजको बहुमत भोलि अल्पमत पनि हुन सक्छ । त्यसैले आत्तिनुपर्ने कुरा पनि छैन ।’ यादव पक्षले अहिले गठबन्धनसँग मन्त्रालय संख्या बढाइदिन आग्रह गरिरहेको छ ।
मन्त्रीका आकांक्षी बढी भएकाले यादवले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रालय बढाइदिन आग्रह गरेका थिए । सत्ता गठबन्धनमा मन्त्रालयको संख्याबारे सहमति जुटेको छैन ।
जसपाभित्र मन्त्री बन्ने आकांक्षीको संख्यामात्र धेरै छैन, कसको नेतृत्वमा सरकारमा जाने भन्ने पनि प्रश्न छ । उपेन्द्र यादव, महिन्द्रराय यादव र राजेन्द्र श्रेष्ठमध्ये कसको नेतृत्वमा सरकारमा जाने भन्ने पनि टुंगो लागेको छैन । ओली नेतृत्वको सरकारमा श्रेष्ठ मन्त्री बन्ने निश्चित जस्तै थियो तर पार्टीभित्र विवाद बढेपछि श्रेष्ठ अन्तिममा मन्त्री हुन पाएनन् ।
अहिले पार्टीभित्र उपेन्द्र यादव सरकारमा जान नहुने मत पनि देखिएको छ । जसपाका एक नेताले महिन्द्र राय यादवको नेतृत्वमा सरकार जानुपर्ने मत पनि छ । मन्त्रीका लागि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरू अमृता अग्रहरी, प्रमोद साहलगायतले पनि आशा राखेका छन् । ठाकुर–महतो पक्षबाट मन्त्री नपाएकै कारण उनीहरू यादव पक्षमा खुलेका हुन् ।
त्यसबाहेक मोहम्मद इस्तियाक राई, प्रदिप यादव, रामसहाय यादव, रेणुकुमारी यादव, सुरेन्द्र यादव, रेणुका गुरुङलगायतले पनि मन्त्रीमा दाबी गरिरहेका छन् । ठाकुर पक्षलाई छोडेर आएका राजकिशोर यादवलाई पनि जिम्मेवारी दिनुपर्ने बाध्यता छ ।
जसपाले बढीमा ६ वटा मन्त्रालय पाउने भए पनि मन्त्रीका आकांक्षी भने दर्जनभन्दा बढी छन् । २१ सांसदमध्ये अधिकांशको रहर पूरा हुने स्थिति नहुँदा स्वभाविक रूपमा असन्तुष्टि बढ्छ ।
त्यसैले सरकारमा जाने उपेन्द्र पक्षको निर्णयसँगै असन्तुष्टि बढ्ने र त्यही असन्तुष्टिका क्रममा सांसदलाई आफूतिर तान्ने ठाकुर पक्षको रणनीति देखिन्छ ।