मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियासँगै चर्किएको राजनीतिक विवाद अहिले चरमबिन्दुमा पुगेको छ। बिहीबार सात दलले सभामुख रामचन्द्र मण्डल विरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशसभामा थप तनाव उत्पन्न भएको हो। अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै, सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको आधारमा पाँच सांसदलाई पदमुक्त गर्ने सूचना टाँस गराउँदै काउन्टर कदम चाले। पदमुक्त गरिएका सांसदहरूमा उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र सर्दा शंकरप्रसाद कलवार छन्।

तर यस निर्णयलाई उपसभामुख बबिता कुमारी राउत इसरले  पूर्ण रूपमा अस्वीकार गर्दै अबैध घोषित गरेकी छन्।उनले सभामुखको कदम नियमविपरीत  र प्रतिशोधपुर्ण भएको आरोप लगाउँदै अर्को सूचना जारी गरी पाँचै सांसदको पदमुक्ति बदर भएको घोषणा गरेकी हुन्।उनका अनुसार ती सांसदहरू पछिल्लो विश्वासमतको बैठकमा उपस्थित भएको प्रमाणित भएकाले पदमुक्तिको आधार नै नबने स्पष्ट छ। सभामुख मण्डल नेकपा एमालेका हुन्। सात दलीय गठबन्धनका ७४ सांसदहरूले उनलाई  प्रदेश सभा सञ्चालनमा निष्पक्षता काम गर्न नसकेको आरोप लगाउँदै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसको प्रतिशोध स्वरूप सभामुखले सांसदहरूलाई कारबाही गरेको दाबी उपसभामुखको छ।

मधेश प्रदेशमा अहिले राजनीतिक द्वन्द्व टकरावपूर्ण रूपमै अघि बढेको छ। मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा गरिएको नियुक्त असंबैधानिक रहेको भन्दै नेपाली कांग्रेससहित  सभाका सात दलले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय