सिरहा नगरपालिका–१७ पटेर्वा स्थित प्रसिद्ध कमला घाटमा महा–कमला आरती भव्य रूपमा सम्पन्न भएको छ ।
कार्तिक पुर्णिमाको शुभ अवसरमा कमला बचाउ अभियानको आयोजना एवम् श्री श्री १०८ श्री कमला मेला समितिको संयोजनमा उक्त कमला महा– आरती गरिएको हो ।
प्रत्येक बर्ष कार्तिक पुर्णिमाको दिनमा नयाँ ठाउँमा यस्ता कार्यक्रम हुँदै आएको कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले बताएका छन ।

कमला नदीको धार्मिक, सांस्कृतिक र आर्थिक महत्वबारे चर्चा गर्दै नदी संरक्षण र सरसफाइमा अग्रसर हुनुपर्नेमा यादवले जोड दिए । उनले आरती जस्ता धार्मिक आयोजनाले नदीप्रतिको आस्था मात्र होइन, संरक्षणको चेतना पनि फैलाउने विश्वास व्यक्त गरे ।
यस्ता कार्यक्रमले सिरहा क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय आन्दोलनमा नयाँ ऊर्जा प्रदान गरेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, साधु–सन्त, जनप्रतिनिधि, समाजसेवी, संचारकर्मी लगायत श्रद्धालुहरुको उल्लेखनीय सहभागिता रहेको थियो। दर्जनौँ दीया, माला र धूपले सुसज्जित कमला नदी किनारमा आरतीका साथ “कमला मैया की जय” का जयघोष गुञ्जिएका थिए ।
संयोजक बिक्रम यादव, पंडित अजय झा, अभियन्ता रामभगत यादव, संचारकर्मी बद्रीनारायण यादव, अमरेन्द्र कुमार यादव र नरेशचन्द्र बरबरियालाई मेला समितिले गम्छा ओढाएर सम्मान गरेका थिए ।



