काठमाडौं । डोजरसहित थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली पछाडि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तत्काल नभत्काउन पत्र पठापछि आफूहरू भवन नभत्काई पछाडि हटेको महानगरका नगरप्रहरी पूर्णचन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार, महानगरले यसअघि नै कार्यालय सार्न मौखिक जानकारी गराएको थियो । “तीन–चार दिनदेखि हामीले ट्राफिकलाई खबर गरेका थियौँ । तर, जिल्ला प्रशासन कार्यालयबाट तत्काल नभत्काउनू भन्ने पत्र आएपछि ब्याक भयौँ,” नगरप्रहरी भट्टले भने ।

भट्टले ट्राफिक प्रहरी प्रभाग हटाउन जाँदा पहिलेदेखि नै प्रहरी खटिएको पनि बताए । “हामी ट्राफिक कार्यालयसहित वरिपरि भएका संरचना भत्काउन गएका थियौँ । तर, त्यहाँ प्रहरी खटिएको रहेछ । ट्राफिकको मात्रै होइन, हामीले सम्पदा क्षेत्रभित्र रहेको हाम्रै वडा भवन पनि हटाउन लागेका थियौँ । तर, बाहिर ट्राफिकमात्रै भनेर आयो,” उनले भने ।
भवन भत्काउन नदिन सुरक्षा कवचसहित प्रहरीको टोली खटिएको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले पनि भवनको सुरक्षाका प्रहरी परिचालन गरिएको बताए ।
कतिपयले जेनजी प्रदर्शनका क्रममा सबै ट्राफिक प्रहरी कार्यालय जलेको बेला प्रहरीका संरचना भत्काउने निर्णयको आलोचना गरिरहेका छन् । महानगरले भने अन्य सम्पदा बनाउने तयारी गरिएकाले अवैध भवन भत्काउनुपरेको तर्क गरेको छ ।
“हामीले त्यहाँ अन्य सम्पदा बनाउने भनेर भनेका थियौँ । त्यसैले सो संरचना पनि हटाउन जरुरी थियो,” भट्टले भने ।
महानगरका अनुसार, गुठी संस्थानको जग्गाभित्र होटल, पसललगायत संरचना निर्माण गरिएको छ ।



