सरकारले प्रमुख दलका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने गरिरहेको छ । नेपाली कांग्रेसका शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा, नेकपा एमालेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी भइरहेको हो ।
जेनजी आन्दोलनको माग अनुसार सरकारले भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरण र आन्दोलनको क्रममा भएको दमनमा संलग्न कतिपय नेताहरूको पासपोर्ट रोक्का गरी अनुसन्धानको दायरामा ल्याउने तयारी सरकारले थालेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पासपोर्ट रोक्का हुनेमा निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक शीर्ष स्थानमा छन् । यसैगरी देउवा दम्पतीको पासपोर्ट रोक्का गर्ने विषयमा पनि चर्चा चलिरहेको छ । तर, क-कसको पासपोर्टमा के-के कारणले रोक लगाउने भन्ने विषयमा ठोस निर्णय हुन बाँकी रहेको बताइएको छ । त्यसको लागि छलफल चलिरहेको बताइएको छ ।
शीर्ष राजनीतिक दलका नेता एवं पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, उनीहरूसँग जोडिएका, सरकारी जग्गा, भुटानी शरणार्थी प्रकरण, वाइडबडी काण्ड, गिरीबन्धु टी स्टेट प्रकरण, टेरामक्सलगायतका भ्रष्टाचारका प्रकरणहरूको सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने आवाज अहिले चर्कोरूपमा उठिरहेका छन् ।



