काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका ठुला सहरका सार्वजनिक स्थलहरूमा निःशुल्क वाई-फाई सञ्चालन गर्ने घोषणा आकर्षक भएपनि त्यसमा धेरै चुनौती र जटिलता भएको इन्टरनेट व्यवसायी विनय बोहराले टिप्पणी गरेका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का पूर्वअध्यक्ष समेत रहेका बोहराले नीतिगत सुधारका लागि व्यावहारिक दृष्टिकोण आवश्यक पर्नेमा मन्त्री खरेको ध्यानाकर्षण गराए ।

मन्त्री खरेल मिडिया पृष्ठभूमिबाट आएका र अनुभवी टेलिभिजन व्यक्तित्व भएकाले आफ्नो क्षेत्रमा ज्ञानसम्पन्न भएको भएपनि यो मन्त्रालय सञ्चार, सूचना प्रविधि तथा दूरसञ्चारको केन्द्रीय निकाय भएकाले विगत, वर्तमान र भविष्यबारे छिटो ‘रिफ्रेसर’ आवश्यक हुने बोहराको भनाइ छ ।
मन्त्रीले कर्मचारीतन्त्र र सरोकारवालासँगको मिलेर काम गर्न सके प्रगति देखापर्ने उनको विश्वास छ ।
“नि:शुल्क वाई-फाई जस्ता योजना सरल र आकर्षक लागे पनि यसका आफ्नै जटिलता छन् । विभिन्न दृष्टिकोण सुनेपछि मात्रै यस्ता विषयलाई गहिराइमा बुझ्न सकिन्छ र निर्णय लिन सकिन्छ । यसरी मात्र दूरसञ्चार क्षेत्रलाई पुनर्जागृत गर्दै नेपालको डिजिटल रूपान्तरणलाई अगाडि बढाउन सकिन्छ,” बोहराले लेखेका छन् ।
“अपेक्षाहरू उच्च भएपनि समय छोटो भएकाले चुनौती धेरै छन् । हाम्रो तर्फबाट, यो यात्रालाई सफल बनाउन हरेक सम्भव तरिकाले योगदान गर्न तयार छौं ।



