आन्दोलनको क्रममा ढुङामुढा भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, वडा अध्यक्ष सहित ६ जना प्रहरी नियन्त्रणमा

सिरहा । जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल सिरहामा आइतवार एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

उपचार गराउन आएका सिरहा नगरपालिका–६ बसबिट्टाका झल्कु महराको १२ वर्षीय छोरा राजन महराको मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको उपचार गराउन ल्याएको केही छिनमै उपचारकै क्रममा मृत्यु भएपछि परिवारजन र आफन्तले ‘चिकित्सकको लापरबाही’ भन्दै विरोधमा उत्रिएका थिए । पीडित परिवार, बसबिट्टाका स्थानीय गाउँले, आफन्त र वडा अध्यक्ष इन्द्रजित यादव लगायत विरोधमा उत्रिए । उनीहरुले अस्पतालले उचित जाँच गर्न नसक्दा बालकको मृत्यु भएको भन्दै प्रर्दशनमा उत्रिए । बालक महरा असहज महसुस भएका प्रादेशिक अस्पताल सिरहामा उपचार गराउन आएको तर चिकित्सकले उपचारमा लापरबाही गर्दा छोराको मृत्यु भएको उनको आमा संगिता महराले बताईन । ‘आफ्नो एक्लो छोरालाई पनि डाक्टरहरुले हत्या गरिदियो,’उनले गुनासो गरिन,‘समयमै उपचार गरिदिएको भए छोरा निको हुन्थ्यो । छोराको हत्याहरुलाई कारबाही हुनुपर्छ ।’

मृतक बालकको आमा संगिता पटकपटक बेहोस भएका थिए । घरमा रहेको एकलो छोराको मृत्यु भएपछि उनी बेहोस भएको परिवारजनले बताए । उपचारमा संलग्न चिकित्कसलाई कारबाही गर्नुपर्ने माग उनले गरेकी छिन् ।

शव अस्पतालमै
उपचारको क्रममा मृत्यु भएको बालकको शव अस्पतालमै रहेको छ । पीडित परिवारले शव बुझ्न नमानेपछि पोष्टर्माटम पनि हुन नसकेको प्रहरीले जनाएको छ । पीडितको माग अनुसार पोष्टमार्टम पनि हुने प्रहरीले जनाएको छ । मृत्युको घटनामा चिकित्सकको लापरबाही हो वा होईन भन्ने कुराको यकिन गर्न प्रहरीले पनि सहयोग गर्ने र आवश्यकता अनुसार अन्यत्र अस्पतालमा पोष्टमार्टमको सुविधा मिलाउन सकिने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यससँगै पीडित परिवारलाई अस्पतालबाट आवश्यक सहयोग उपलब्ध गराउन सहयोग गरिने प्रशासनले जनायो ।

टायर बालेर प्रर्दशन, ढुङामुढा र लाठीचार्ज
अस्पताल अगाडीको मुख्य सडकमा टायर बालेर उनीहरुले प्रर्दशन गरेका थिए । टायर बालेर सडक अवरुद्ध गरी प्रर्दशनमा उत्रिएपछि प्रहरीले सडकलाई खाली गराएका थिए । त्यसपछि पीडित परिवार र आफन्तले अस्पतालभित्रै पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, उपचारमा संलग्न चिकित्सकलाई घेराउ गरेका थिए । पीडित परिवार, वडा अध्यक्ष यादव र स्थानीयले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र यादव, उपचारमा संलग्न चिकित्सक नितेश कर्णलाई कार्यकक्षमै घेराउ गरेका थिए । प्रहरीको बाक्लो सुरक्षाघेराभित्र रहेको बेला पीडितपक्षबाट ढु्ङामुढा गरिएको थियो ।

अध्यक्ष र चिकित्सक बसेको कार्यकक्षमा ढुङामुढा भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले ढुङामुढा भएपछि स्थिति नियन्त्रणमा लिन १ सेल अश्रुग्यास प्रहार गरिएको बताए । ढुङामुढावाट १० जना प्रहरी समान्य घाईते भएको भन्दै डिएसपी पासवानले स्थिती नियन्त्रणमा लिन प्रहरीले समान्य लाठीचार्ज गरेको बताएका छन् । लाठीचार्जबाट करिब एक दर्जन व्यक्ति घाईते भएको बसबिट्टाका रामचन्द्र यादवले बताए । ढुङामुढावाट अध्यक्ष यादव बसेको कक्षको सिसा फुटेको छ ।

वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
सिरहा नगरपालिका–६ का वडा अध्यक्ष इन्द्रजित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्षसँगै स्थानीय रामपुजन यादवल लगायत ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शान्त रहेको अवस्थामा पीडित पक्षलाई ढुङामुढा एवं तोडफोडमा उत्रिन उस्काएको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ अघि अपन दैनिकलाई प्रतिक्रिया दिदै वडा अध्यक्ष यादवले पटकपटक अस्पतालमा भईरहेको लापरबाहीवारे ध्यानाकषर्ण गराएपनि वेवास्ता गर्दै आएको बताएका थिए । आफूले निरन्तर अस्पतालमा सुधार गर्न लिखित र मौखिक रुपमा आग्रह गरेपनि अस्पताल प्रशासनले वेवास्ता गर्दा उपचारमा आउने नागरिकहरु झन् समस्यामा पर्ने गरेको बताएका थिए ।
यता पक्राउ गरिएको वडा अध्यक्ष यादव सहितलाई रिहा गराउन पूर्वमन्त्री एवं प्रदेश साँंसद प्रमोद कुमार यादवसँगै नेकपा एकीकृत समाजवादीका नेताहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरुले प्रहरी उपरीक्षक आनन्दराज शर्मासँग घटनाको वारेमा छलफल गर्दै वडा अध्यक्ष सहित सवैलाई रिहाई गर्न आग्रह गरेका थिए । प्रहरी उपरीक्षक शर्माले अहिले सिचुएसन राम्रो नभएकोले तत्काल रिहा गर्न नसकिने र अस्पतालमा भएको तोडफोड र चिकित्सकको विषयवारे विस्तृत छानबिन भएपछि प्रकृयागत रुपमा अघि वढ्ने भनाई सांसद यादव लगायतको टोलीलाई जवाफ दिएका थिए । त्यसपछि सांसद यादव, वडा अध्यक्ष लगायतका टोली जिल्ला प्रहरी कार्यालयबाट फर्किएका थिए ।

चिकित्सक भन्छ : गम्भीर
प्रादेशिक अस्पतालमा उपचार गराउन आएका राजनलाई सुरुमा डा नितेश कर्णले चेकजाँच गरेका थिए । गम्भीर प्रकारको रक्तअल्पता भएको र हेमोग्लोबिनको मात्रा २.५ ग्राम–डिएल मात्र भएकाले बचाउन नसकिएको अस्पतालका सुचना अधिकारी रामनारायण चौधरीले बताए । बच्चा अस्पतालको ईमरजेन्सीमा आईसकेपछि डा नितेश कर्णले जाँच गरेको भन्दै सूचना अधिकारी चौधरीले थप जाँच गर्न बालरोग विशेषज्ञ डा मनिष मण्डलले पनि जाँच गरेको बताए । सिभियर एनिमिया (रक्तअल्पता) भएकोले ब्लड ट्रान्सफरको तयारी भैरहँदा बिरामीको निधन भएको सूचना अधिकारी चौधरीले बताए ।

पूर्जि र जाँचमा फरक फरक चिकित्सक
अस्पतालमा उपचार गराउन आएका बालक राजनको उपचार गराउन काटिएको पूर्जिमा डा सुदेश कुमार यादवको नाउँ उल्लेख गरिएको छ । डा यादव उपचारमा संलग्न थिए वा थिएन भन्ने कुरा खुल्न आएको छैन् । डा नितेश र डा मनिषले चेकजाँच गरेको अस्पतालको दावी छ । डा यादव तालिमको क्रममा रहेकोले आफूले अस्पतालमा डियूटीमा नभएपनि लापरबाहीले आफ्नो नाम पूर्जिमा राखिएको दावी गरेका छन् ।

उपचारमा संलग्न चिकित्सक डा नितेश कर्ण
बिरामीको अवस्था एकदमै कमजोर थियो । अस्पतालले निःशुल्कमा उपचार गरेको हो । बिरामी आउदा अक्सिजनको लेभेल ३० थियो भने हेमोग्लोबिनको मात्रा २.५ ग्राम/डिएल मात्र भएकोले बचाउन नसकिएको र आफुहरुबाट कहिकतै कुनै त्रुटी नभएको डा नितेश कर्णले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यादव
उपचारमा खटेका डाक्टरले करिब ११ः३० मलाई फोन गरेर एक बिरामीको अवस्था एकदमै कमजोर छ । उसलाई ल्याब जाँचको लागि निःशुल्क गरिदिनु पर्यो भनेर फोन गरेको थियो । डाक्टरले भनेअनुसार ल्याब जाँच सम्पूर्ण निःशुल्क भएको थियो । पछि फेरी डाक्टरले फोन गर्यो कि शव बाहन निःशुल्क गरिदिनु पर्यो । त्यति सम्म मृतक बालकको आमा लगायत आफन्तहरु सामान्य थियो । पछि सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादव आएर यहाँको माहोल बिगारदियो । मृतकका आमाका अनुसार पहिला पनि विभिन्न ठाउँमा चेक जाँच गराएको तर कही ठिक नभएको बताएको थियो । अस्पतालले अवस्था कमजोर भएकोलाई निःशुल्कमा उपचार गरेकै हो, अनि कसरी अस्पतालको लापरवाही भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय