
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्तराज शर्माले शान्ति सुरक्षाको विषयमा सिडियोले भनेको जस्तै सदरमुकाम सिरहा असुरक्षित रहेको बताएका छन् ।
के शान्ति सुरक्षाको विषयमा सिरहा सदरमुकाम असुरक्षित हो ? भन्ने अपन दैनिकको प्रश्नको जवाफ दिदै एसपी शर्माले भने,‘ सिडियोले सदरमुकाम असुरक्षित छ भनेको हो भने असुरक्षित नै छ । यसमा मैले धेरै कुरा भन्न मिल्दैन् ।’
सदरमुकाम सिरहा असुरक्षित भएको सिडियोले बताएपछि असुरक्षित नै भएको बुझ्नुपर्ने एसपी शर्माले स्पष्ट पारेका छन् । कुनैपनि कार्यक्रमको अनुमति दिने निकाय जिल्ला प्रशासन कार्यालय भएको भन्दै एसपी शर्माले भने, ‘सिडियो साहबले सदरमुकाम असुरक्षित छ भनेको छ भने त्यो सही हो । यस विषयमा थप कुरा उहाँसँगै बुझ्नुस् ।’
सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) विश्व प्रकाश अर्यालले सिरहा सदरमुकाम असुरक्षित भएको वुधवार बताएका थिए । सदरमुकामको सुरक्षाको विश्लेषण गर्दा अहिले अनुकुल समय नभएको भन्दै सिडियो अर्यालले सदरमुकाम असुरक्षित रहेको संदेश सार्वजनिक गरेका छन् ।

सदरमुकाम सिरहामा पहिलो पटक लोक नायक राजा सलहेशको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न अनुमति माग गर्दा सिडियो अर्यालले सदरमुकाम असुरक्षित रहेकोले शान्ति सुरक्षा दिन नसक्ने बताएका थिए । सलहेश युवा कल्वले महोत्सव आयोजनाको तयारी तिव्र गरिरहँदा सिडियो अर्यालले सदरमुकाम असुरक्षित भएको संदेश सार्वजनिक गरेको छ ।
नेकपा माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले सदरमुकाम सिरहा असुरक्षित भएको कुरा सिडियोले भनेर आफ्नो असुरक्षित वातावरण निर्माण गरेको बताएका छन् । सदरमुकामसँगै जिल्लाको शान्ति सुरक्षाको जिम्मा सिडियोको कमाण्डमा रहेको भन्दै नेता यादवले सिडियोले नागरिकलाई त्रसित बनाउने काम गरेको बताए । ‘सिडियोले आफू असक्षम भएको कुरालाई प्रष्ट पारेको छ,’ नेता यादवले भने, ‘यो गम्भीर विषय हो । सदरमुकामको बेज्जत गर्न खालेको सिडियको अभिव्यक्ति हो । तत्काल फिर्ता लिनुपर्छ ।’
स्थानीय युवा कुमार विवेकले सिडियोको अभिव्यक्ति खेदजनक भएको बताएका छन् । सदरमुकामको शान्ति सुरक्षा दिन नसक्ने सिडियोको आवश्यकता नभएको भन्दै उनले तत्काल आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताएका छन् । जिल्लाको प्रशासनिक निकायको रुपमा सदरमुकाम कायम रहेको र सदरमुकाममै असुरक्षा भएको भन्ने अभिव्यक्ति सिडियोले दिएर आफ्ैनै खिल्ली उडाएको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव नविन यादवले सिरहामा महोत्सव लगाउन नदिएर सिडियोले व्यापार व्यवसाय पलायन गराउन खोजेको बताएका छन् । ‘मलाई शक्ति छैन्, शान्ति सुरक्षा दिन सक्दिन भन्ने कुरा राम्रो होईन्,’ महासचिव यादवले भने, ‘सिरहा बजारमा शान्ति सुरक्षा दिन नसक्ने कुनै त्यस्तो अवस्था छैन् । प्रशासनले आफ्नो कमी कमजोरी लुकाउन यस्तो षड्यन्त्र गर्न खोजेको छ ।’
प्रशासनले सदरमुकाम असरक्षित रहेको हल्ला फैलाउँदा यहाँको हरेक क्षेत्र प्रभावित बन्ने भन्दै महासचिव यादवले भने, ‘यो दुर्भाग्यको कुरा हो । यो सिरहाको निम्ति षड्यन्त्र भईरहेको छ । सिरहाबाट व्यापार व्यवासय पलायन गराउने खेल हो ।’
सदरमुकामका हरेक संघसंस्था, राजनीतिक दल, वुद्धिजिवी, अधिकारकर्मीहरुले सिडियोको असक्षमता र षड्यन्त्रको विरोध गर्नुपर्ने स्थानीय नागरिकहरुले बताएका छन् । सिरहाको विकास विरोधी सिडियो भएकोले चौतर्फी विरोध गर्न जरुरी भएको उनीहरुको भनाई छ ।
सदरमुकाम सिरहामा सलहेश युवा कल्वले यही वैशाख २६ गतेदेखि सलहेश महोत्सव लगाउने तयारी गरिरहेको थियो ।