सयौं सुरक्षाकर्मी रहेको सदरमुकाममा सलहेश महोत्सव आयोजना गर्न जिल्ला प्रशासन बाधक
सिरहा । जिल्ला सदरमुकाम सिरहको शान्ति सुरक्षा दिन नसकिने प्रमुख जिल्ला अधिकारी (सिडियो) विश्व प्रकाश अर्यालले बताएका छन् ।
शान्ति सुरक्षाको माग गर्दै स्थानीय युवाहरुको समूहले प्रजिअ अर्याललाई भेट गर्न पुगेका थिए । जिल्ला सदरमुकाममा सलहेश महोत्सवको आयोजना गर्ने तयारीमा जुटेका स्थानीय युवाहरुले शान्ति सुरक्षाको बन्दोबस्ती गर्न सिडियोसँग संवाद गरेका थिए । सिडियो अर्यालले सिरहामा शान्ति सुरक्षा कायम गर्न आफू असमर्थ भएको बताएका छन् । ‘सिरहा सदरमुकामको अहिलेको अवस्थामा शान्ति सुरक्षा दिन सकिदैन,’ सिडियो अर्यालले भने,‘सुरक्षा विश्लेषण गर्दा अहिले अनुकुल समय छैन् ।’
सलहेश युवा कल्वले ‘प्राचीन सलहेश महोत्सव’ लाई भव्य रुपमा आयोजना गर्ने तयारीमा जुटिरहेको बेला जिल्ला प्रशासन कार्यालय सिरहा नै बाधक बनेको हो । सदरमुकामस्थित लोक नायक राजा सलहेशको पर्यटकीय दृष्टिकोणले पनि प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लाग्दा सिडियो बाधक बनेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । आफूले ऐतिहासिक रुपमा महोत्सव आयोजना भव्य र सभ्य रुपमा गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाई दिन आग्रह गर्दा पनि सिडियोले ‘शान्ति सुरक्षा’ दिन नसक्ने भन्दै महोत्सवको अनुमति नदिएको अध्यक्ष यादवले बताएका छन् । ‘यो सिरहा र सिरहाको समग्र हितको विपक्षमा सिडियोको भूमिका देखियो,’ उनले भने,‘सिडियोको संदेशपूर्ण अभिव्यक्तिले सिरहा सदरमुकामलाई बदनाम गर्न खोजिएको छ । यो निन्दनीय कार्य हो ।’

सलहेश महोत्सवले जिल्ला सदरमुकाम सिरहाको व्यापार व्यवसाय, स्थानीय उत्पादनहरुको प्रवद्र्धन, स्थानीय कलाकारहरुको कला प्रस्तुति गर्ने अवसरलाई सिडियोले रोक लगाउन खोजेको स्थानीय युवाहरुले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसंधान विभागको कार्यालय र सयौं सुरक्षाकर्मी सदरमुकाम सिरहामा केन्द्रित हुँदा पनि सिडियो अर्यालले शान्ति सुरक्षा कायम गर्न नसक्नु अक्षमता स्थानीय नेता रविन्द्र साहले बताए । सिरहाको व्यापार व्यवसाय, पर्यटनको वृद्धि र प्रवद्र्धनमा यहाँका सुरक्षा निकाय र प्रशासनको रचनात्मक सहयोग हुनुपर्नेमा त्यसको विपरीत सिडियको भूमिका भएको नेता साहले बताए ।
‘सिडियो सिरहामा व्यापार व्यवसाय र पर्यटन क्षेत्रको विकास नहोस् भन्ने चाहाना बोकेको देखिन्छ,’ स्थानीय युवा नागे यादवले भने,‘सिडियोको भूमिका संदेशपूर्ण भएकोले विरोध गर्नुपर्ने आवश्यकता छ ।’
महोत्सव आयोजना गर्न नगरपालिकाको स्वीकृति
लोक नायक राजा सलहेश स्थलको प्रवद्र्धन गर्ने उदेश्यले सिरहामा पहिलो पटक महोत्सव आयोजना गर्न सिरहा नगपालिकाले स्वीकृत दिएको छ । सिरहा नगरपालिकाले वैशाख १५ मा महोत्सव आयोजना गर्न सलहेश युवा कल्वलाई स्वीकृति दिदै जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्राचार गरेको पाईएको छ । यस्तै महोत्सव आयोजना स्थल सदरमुकाम सिरहा स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसले पनि वैशाख ११ गतै नै स्वीकृति दिएको छ ।






