
मानव बेचबिखन तथा ओसार पसार गर्न पूर्वको जोगवनी नाका प्रयोग गर्ने गरेको पाइएको छ । माइती नेपालका अनुसार ११ महिनामा २०१ जनालाई सीमा नाकामै रोकेर परिवारको जिम्मा लगाएको छ । माइती नेपालको उक्त तथ्यांक २०२४ मार्चदेखि २०२५ फेब्रुअरीसम्मको हो । तीन जनालाई भारतको कटिहारबाट फिर्ता गरिएको माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले बताइन् ।
जोगवनीबाट भारत प्रवेश गरेलगतै रेल्वे स्टेसनमा पुगिने भएकाले यो नाका प्रयोग गर्ने गरेको हुनसक्ने उनले बताइन् । ‘महिलाहरूलाई लैजाने एउटा गिरोह नै छ,’ उनले भनिन्, ‘तर त्यो गिरोह यताको होइन । गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गरेर उनीहरूलाई बोलाउने

स्याङजा, सिन्धुपाल्चोकलगायत जिल्लाका युवतीहरूलाई समेत नाकामै रोकेर परिवारको जिम्मा लगाइएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोख्रेलले बताए । संयोजक पोख्रेलकाअनुसार मोरङका ८०, सुनसरीका ४४, झापाका १५, उदयपुरका ८, सिराहाका ५, सप्तरी ५, सर्लाहीका २, सिन्धुपाल्चोकका ३, भोजपुरका ५, स्याङजाका एक र संखुवासभाका ७ व्यक्तिलाई परिवारको जिम्मा लगाइएको हो । ‘एक्लै गएको देखेपछि सोधपुछ गर्दा कोही घरबाट भागेर कामको खोजीमा गएको पाइयो,’ पोख्रेलले भने, ‘कोही भने भारतबाटै रेलको टिकट काटेर बोलाउने गरेको पाइयो । धेरैजसोलाई सामाजिक सञ्जालको प्रयोग गरेर बोलाइएको पाइएको छ ।’
नेटवर्किङ बिजनेसमा जाने धेरै पाइएको उनले बताए । ‘तेस्रो देशमा भिसा लगाउन भनेर जाने पनि पाइयो । अर्केष्ट्राहरूमा नाच्न पनि लाने गरेको पाइयो । नाच्न लगिदिए बापत दलालले भारु ५ सय रुपैयाँ पाउँदा रहेछन्,’ पोख्रेलले भने ।
भरतमा विभिन्न कार्यक्रमहरूमा गएर देखाउने नाचलाई अर्केष्ट्रा नाच भन्ने गरिन्छ । यो नाच होटल र सडकमै टेन्ट टाँगेरसमेत नचाउने गरिएको छ । तस्करले यसलाई मानव बेचबिखनको नयाँ तरिका बनाएका शर्माले बताइन् । ‘ट्रेनको टिकट काटेर नै बोलाउँदा रहेछन्,’ उनले भनिन्, ‘यो नयाँ तरिका भएकाले सबै भनेका छैनन् । उताबाट बोलाउनेले नाकामा ढाँट्न भनेर सिकाएको समेत थाहा पायौं । तर, भारतीय नागरिक भएकाले हामीले कारबाही गर्न पाएका छैनौं,’ उनले भन् ि। नाच्न १६ देखि १८ वर्षसम्मका किशोरीहरू बढी जाने गरेको उनले जानकारी दिइन् ।
हराएर आएका ३४ जनाको निवेदनमध्ये ७ जना भेटिएर परिवारको जिम्मा लगाएको माइती नेपालले जनाएको छ । माइती नेपालमा घरेलु हिंसाका ४८ वटा उजुरी, सीमा नाकाबाट नै फर्काइएको १३ जना र १३२ जनाको काउन्सिलिङ गरिएको छ ।
जोखिममा रहेर फर्काइएका २०२ जनामध्ये जनजाति ५२ जना, मधेसी ४८, ब्राह्मण–क्षेत्री ३६, चौधरी र राजवंशी ३६, दलित २८ र २ जना मुस्लिम समुदायका छन् ।
मोरङका ८० जनामध्ये विराटनगर र रतुवामाई नगरपालिकाका ८–८ जना तथा सुन्दरहरैंचाका ७ जनालाई उद्धार गरिएको उनले बताएन् ।
शंका लागेपछि केही युवतीहरूको भने नागरिकता वा अन्य परिचय खुल्ने कागजात राखेर फर्किएपछि मात्रै दिइने गरेको माइती नेपालले जनाएको छ ।
नेपाली चेलीलाई गर्लफ्रेन्ड बनाएर समेत लैजाने गरेको घटनाहरू भेटिएको र सम्पर्कमा पुगेपछि सामाजिक सञ्जालमा राखिएका विषयहरू हटाउन लगाउने गरेको तथ्यहरू माइती नेपालले फेला पारेको छ ।