सिरहा । नेपाल प्रिमियर लिग (एनपिएल) टी–ट्वान्टी क्रिकेटको पहिलो संस्करणको उपाधी विजेता जनकपुर बोल्टस् आज सिरहा आउँदैछ ।
उपाधी सहित मधेश प्रदेशका आठ वटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रम अनुसार टोली सिरहा आउन लागेको हो । विजेता टोली सिरहा आउने भएकोले जिल्ला क्रिकेट संघ सिरहा र सिरहा नगरपालिका सिरहाले संयुक्त रुपमा भव्य स्वागतको तयारी गरेको छ । कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा रहेको पदमपुरमा पहिलो चरणको स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।
जिल्ला क्रिकेट संघका समेत अध्यक्ष रहेको मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले पदमपुरमा स्वागत गरी सिरहा नगरपालिकाको रोड शोमा भित्र्याउने कार्यक्रम तय भएको छ । चौक चौकमा स्थानीयहरुले टोलीको विजयमा हर्षवढाई गर्ने कार्यक्रम रहेको छ । पदमपुरदेखि सिरहा सदरमुकामसम्मको प्रत्येक चौकहरुमा क्रिकेटप्रेमीहरुले फूलले स्वागत गर्ने तयारी भएको हो । विजेता टोलीलाई भव्य स्वागत गर्न जिल्ला क्रिकेट संघले जिल्लावासीलाई अह्वान समेत गरेको छ ।
पदमपुर, भलुवाही, गुलरीया, ट्राफिक चौक, क्याम्पस गेट चौक, हेमनारायण चौक, ईमली चाक, पिपल चौक, महावीर चौक, रामजानकी चौक, मखनाहा, माडरसम्म पुग्ने कार्यक्रम तय गरिएको छ । रोड शोमा हजारौंको सहभागीता रह्ने संघका अध्यक्ष महासेठले बताए । क्रिकेट खेलाडी, खेलप्रेमी, महिला, पुरुष युवाहरुको उल्लेख्य सहभागिता रह्ने अध्यक्ष महासेठको भनाई छ । विभिन्न तहका निर्वाचित जनप्रतिनिधिले पनि रोड शोमा सहभागी हुने भन्दै अध्यक्ष महासेठले विजेता टोलीको उत्सव सिरहामा विशेष भएकोले त्यसै अनुसारको तयारी थालिएको बताए ।
विजेता टोलीको सिरहा नगरपरिक्रमासँगै दिवा भोजको व्यवस्था गरिएको छ । दिवा भोज सकिएपछि विजेटा जनकपुर बोल्ट्स क्रिकेट टोली मधेशको लाईफलाईन रहेको हुलाकी सडकमार्ग भएर सप्तरी सदरमुकाम राजविराज प्रस्थान गर्ने कार्यक्रम रहेको छ । हुलाकी राजमार्ग भएर राजविराज जाने विजेता टोलीलाई सन्हैठा, गणेशपुर चौक, औरही, बरियारपट्टी, सोनवर्षा, भगवानपुर लगायतको चौकमा पनि स्थानीयले स्वागत गर्ने तयारी गरेको छ ।
यो सिजन मधेश र मधेशीको पहिचानसँग जोडिएकोले विजेता टोलीको स्वागत र हर्षवढाईमा ठूलो संख्यामा नागरिकको सहभागिता भईरहेको स्थानीय युवाहरुले बताएका छन् । मधेश र मधेशीसँगको भावना जोडिएकोले टोलीलाई बधाईको ओईरो र स्वागत गर्न गाउगाउँबाट युवाहरुको सहभागिता भईरहेको सिरहा उद्योग वाणिज्य संघ सिरहाका सदस्य यूवा व्यापारी सोनु कुमार महराले बताए । टोलीको जित मधेशको जित भएकोले नै मधेशका हरेक क्षेत्रमा भव्य स्वागत भईरहेको भन्दै उनले रोड शोमा ठूलो संख्यामा नागरिकको सहभागिता रह्ने बताए ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव नेतृत्वको जनप्रतिनिधिको टोलीले सिरहा बजारमा सम्मान गर्ने कार्यक्रम रहेको छ । सिरहा नगरपालिकाले टोलीलाई नगरपरिक्रमाको निम्ति गाडी सजाईएको र अन्य तयारीहरु पनि गरिएको नगरपालिकाले जनाएको छ ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसका स्ववियू सभापति दिपेन्द्र यादवले विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत गर्न गरी ठाउँठाउँमा युवाहरुले तयारी थालेको बताएका छन् । सिरहा सदरमुकामसँगै औरही गाउँपालिकाको गणेशपुर चौकमा पनि भव्य स्वागत गर्ने तयारी गरिएको बताएका छन् ।