आपूर्ति कम हुँदा कृषकलाई समस्या

सिरहा । सिरहा जिल्लाको प्रमुख वाली रहेको धानको रोपाई जारी छ । असारदेखि नै धान रोपाई सुरु भएपनि अझैं सकिएको छैन् । तर धान रोपाई सकिएका खेतहरुमा अहिले रसायनिक मलको अभाव देखिन थालेको छ । 
माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसक्दा जिल्लाका कृषकहरुलाई समस्या खेप्नुपरेको छ । सिरहाको लहानमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै छ । जसले गर्दा अन्य रसायनिक मलको बिक्री वितरणमा वृद्धि भएको छ ।
जिल्लामा रसायनिक मलको माग बढ्दै गएपनि कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै जादा कृषकहरुलाई मलको अभावको सामना गर्नुपरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड लहानका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र ६ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कम्पनीका लहान प्रमुख मणिराज पौडेलले बताए ।
यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २३ हजार ७७ बोरा युरिया र २ हजार ४ सय बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया र ८ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । जिल्लामा आवश्यकता अनुसारको आपूर्ति नहुँदा मलको हाहाकार हुने र कृषकहरुलाई समस्या भोग्नुप रेको प्रमुख पौडेलले बताए । आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानको तथ्यांक रहेको छ । 
३० हजार बोरा यूरिया जरुरी
सिरहा जिल्लामा साउन महिनामा ३० हजार बोरा युरिया र त्यही परिमाणमा डिएपी मल आवश्यक भएको छ । तर १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८ सय बोरा डिएपी मल आपूर्ति भएको कम्पनीका लहान प्रमुख पौडेलले बताए ।
मल प्राप्त भएपछि कोटा निर्धारण गरी १७ वटै स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरुमार्फत कृषकलाई बिक्रि वितरणको व्यवस्था मिलाईएको उनले बताए । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुमार्फत मलखाद्य बिक्रि वितरण शुरु गरेको प्रमुख पौडेलले बताए ।
५४ हजार हेक्टरमा धानखेती 
सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । उक्त जग्गामध्ये ५४ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ५४ हजार हेक्टर जग्गामध्ये अहिलेसम्म ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ सकिएपछि समयमा मलखाद्य नपाउँदा कृषकलाई भारतबाट कम गुणस्तरको रसायनिक मल ल्याउनु पर्ने बाध्यता पनि रहेको छ ।
धानमा मल हाल्ने बेला हुँदा समेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा कृषकले महँगो मूल्यमा रसायनिक मल विक्रेकताबाट खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!