सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव सिरहा जिल्लामा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।
आम हड्ताल आहृवानका कारण सिरहा जिल्लाको मुख्य बजारहरु लहान, गोलबजार, मिर्चैया, सदरमुकाम सिरहा ठप्प बनेको छ । बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारी साधनहरु चल्न सकेका छैनन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन् ।
सडकमा बिहान सेनाका गाडीहरु समेत घुमाइएको थियो भने प्रहरीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरीको गाडी साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा गस्ती गरेको छ ।
सदरमुकाम सिरहामा नेकपाका सिरहा जिल्ला सचिव तथा प्रदेश सांसद प्रमोद कुमार यादवको अगुवाईमा नेकपाका नेता कार्यकर्ताहरु बजारमा घुमिरहेको छ ।
त्यस्तै सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बस्तीपुरमा पूर्व कानून मन्त्री अजय शंकर नायक र कर्जन्हा नगरापलिकाका मेयरको अगुवाईमा राजमार्ग अवरुद्ध पारेको छ । सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन् । सिरहामा १ः१५ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी शालीग्राम शार्मले बताए ।