सिरहा । हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्न पवित्र कमला नदीमा नयाँ पक्की पुलको माग गर्दै आमरन अनसन सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा १० जनाको सहभागितामा मंगलबार देखि आमरन अनसन सुरु गरिएको हो ।
हुलाकी सडक अन्र्तगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, वडा नम्बर ३ का वडाअध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव, युवा अभियन्ता मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव आमरण अनसनमा बसेका छन् ।

विगत १३ वर्षदेखि निर्माणधीन पक्की पुल अलपत्र परेको, जोखिम रहेकोले नयाँ पुलको माग गर्दै इन्जिनियर नेतृत्वमा जनप्रतिनिधि र अभियन्ताहरुले सामुहिक रुपमा आमनरन अनसनमा बस्न बाध्य भएको संयोजक इन्जिनियर प्रविणले बताए ।
यस अघि संघर्ष समितिले गत साउन २७ मा पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एक सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सोही अनुरुप सरकारको तर्फबाट ७ दिनमा कुनै किसिमको चासो नदेखिएपछि सामुहिक अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक यादवले बताएका छन् ।
भौतिक पूर्वाधारमन्त्रीसँग छलफल
आमरन अनसन सुरु भएको एक घटनापछि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव अनसन स्थल पुगेका थिए । मन्त्री यादवले अनसनरत पक्षसँग कमला पुल र आवश्यक प्रयासका वारेमा छलफल गरेका छन् । कमला पुल नबन्दा नागरिकले सास्ती भोगिरहेको यर्थाथलाई मन्त्रीले मनन गरेको अनसनकारी सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साहले भने,‘मन्त्रीजीले हामीसँग छलफल गर्नुभयो । वृहत्त रुपमा छलफल र समाधानतर्फ जानेमा मधेश प्रदेश सरकार संवेदनशील रहेको मन्त्रीजीले आफ्ना कुरा राख्नुभयो ।’
पुलको लम्बाई र डिजाईन गलतः संयोजक यादव
पवित्र कमला नदी पककी पुल निर्माणको माग गर्दै आईरहेको संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले भाँसिएर अलपत्र रहेको पुलको डिजाइन नै फेल भईसकेको बताएका छन् । ‘पुलको पाईल डेप्थ, स्कोर डेप्थ मिलेको छैन,’ इन्जिनियर यादवले भने,‘अर्कोतिर रिवर टे««निंगको डिजाइन गलत छ । यसको समाधान नयाँ पक्की पुल नै हो ।’
दशकौंदेखि ब्यग्र प्रतिक्षमा रहेका यस क्षेत्रका नागरिकलाई तत्काल कमला पुल निर्माणको पहल गर्न आवश्यक भएको अनसनरत सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य समेत रहेका इन्जिनियर रुपेश कुमार यादवले बताए । प्रदेश सरकारले आफ्नो बजेटमा नयाँ पुल निर्माणको पहल गर्न आवश्यक बजेटको सुनिश्चितता नगरेसम्म अनसन नरोकिने भन्दै वडा सदस्य समेत रहेका इन्जिनियर यादवले भने,‘हाम्रो पूर्वजहरुले पुलको पखाईमा यो सडक भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । अहिले हामी पनि त्यही अवस्थामा छौं । यस्तो हुनुहुदैन । नयाँ पुलको विकल्प छैन् ।’
मुख्यमन्त्री सिंह भन्छन्– सीधै अनशन बस्नु स्टन्ट
मधेशका मुख्यमन्त्री सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भीर रहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए ।
प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि द्रुत गतिमा पहल गरिरहँदासमेत सीधै आएर आमरण अनशनमा बस्नु स्टन्ट भएको आरोप उनले लगाए ।
‘गत साउन २७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाका साथीहरुले मलाई एक सूत्रीय माग राखेर ज्ञापनपत्र बुझाउनुभएको थियो, उहाँहरुकै ज्ञापनपत्रमा एक साताभित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसँग पहल गर्न भन्नु भएको रहेछ,’ उनले भने, ‘उहाँहरुको मागलाई गम्भीरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई वोधार्थ राखेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मागसहित पत्र पनि लेखिसकेका छौँ ।’
मधेश सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद बैठकबाट हुलाकी राजमार्गअन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णयसमेत गरिएको उनले दावी गरे ।
उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँले त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमासमेत छलफल अगाडि बढाइएको बताए ।
सिरहा र धनुषाका कयौं मन्त्री भएपनि पुल बनेन्
सिरहा र धनुषा जिल्ला जोड्न करिब १३ वर्ष अघि शिल्यानाश गरिएको थियो । तात्कालिन भौतिक पूर्वाधार मन्त्री हृदेश त्रिपाठीले २०६८ सालमा पुल निर्माण गर्ने कार्यको शिल्यनाश गरेका थिए । विगत १३ वर्षमा सिरहा र धनुषावाट कयौं नेता मन्त्री भएपनि कमला नदीमा पक्की पुल बन्ने र त्यसवाट सवारीसाधन सहज रुपमा आउजाउ हुने सपना साकार हुन सकेको छैन् । धनुषावाट नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेका रघुवीर महासेठ, उमाशंकर अरगरिया यादव, रामचन्द्र झा, सिरहाबाट नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष सितादेवी यादव, जसपाका नेता राजकिशोर यादव लगायत सिरहा र धनुषाका कयौं नेता मन्त्री बनेपनि पुल बन्न सकेका छैनन् ।



