समाचार

माता, मातातीर्थ औंसी र मातृभूमि

ADVERTISEMENT
ADVERTISEMENT

माता अर्थात् आमा शब्द नै यति कर्णप्रिय छ कि यो शब्द कानमा पर्नासाथ मानिसको मस्तिष्क माया, ममता र स्नेहले झंकृत हुन्छ। मन आनन्दको गहिराई पौडी खेल्छ। वास्तवमा सन्तानका लागि आमा माया, ममाता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन्।

ADVERTISEMENT

आमाले अनेक दुःखकष्ट व्यहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिञ्चन गर्छिन्, कठोर प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन्। यही कारण आमाको यति महत्त्व भएको हो, आमालाई जगत्जननी भनिएको हो। भनिन्छ, मानव जातिका लागि धर्तीले

जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै बोझ उठाउँछिन्। त्यसैले मानव समाजमा पिताको भन्दा माताको उच्च स्थान हुन्छ।
शास्त्रहरूमा भनिएको छ, तीर्थहरूमा गंगा, ईश्वरहरूमा विष्णु, पूज्यहरूमा भगवान् शिव र गुरुहरूमा माताको सर्वोपरि महत्त्व छ। पत्नीसमान कुनै मित्र हुँदैन, सन्ततिसमान प्यारो कुनै प्राणी हुँदैन, दिदीबहिनीसमान कुनै मान्यजन हुँदैनन् र मातासमान कुनै गुरु हुँदैनन्। मानिसले माता एवं पिताको सँगै दर्शन गर्दा सर्वप्रथम मातालाई प्रणाम गरेपछि मात्र पितालाई प्रणाम गर्नुपर्छ। हो, मानिसको जीवनमा पिताको भन्दा माताको स्थान उच्च छ। छोराछोरीको पुरुषार्थ देखेर निःस्वार्थ आनन्द लिने व्यक्ति मात्र बाबु–आमा हुन्छन्।

आमाका २१ नामहरूको ठुलो महत्त्व छ। मातृत्वमा निहित ममता, स्नेह, करुणा जस्ता गुण र निःस्वार्थ स्वभावको चिनारी गराउने आमाका २१ नाम यस प्रकार छन्– १. माता (आमा) २. धरित्री, ३. जननी ४. दयाद्र्रह्दय ५. शिवा ६. देवी ७. त्रिभुवनश्रेष्ठा ८. निर्दोषा ९. सर्वदुःखहा १०. परमाराधनीया ११. दया १२. शक्ति १३. क्षमा १४. धृति १५. स्वाहा १६. स्वधा १७ गौरी १८ पद्मा १९. विजया २०. जया तथा २१. दुःखहन्त्री। यी प्रत्येक नामले माताको महनीय बिम्बलाई आत्मसात् गराउँछन्। उक्त २१ नामहरूको श्रवण र मनन गरी माताको महिमा बुझेर सम्मान, सेवा र सत्कार गर्ने सन्तानहरू दुःखबाट मुक्त हुन्छन्।

कतिपय मानिसको जीवनमा माताको यो महत्व एक रत्ति पनि भेटिँदैन। त्यसैले त आमालाई भरपूर सम्मान, सेवा र सत्कार गर्ने ठाउँमा बुढी भएकी आमालाई आश्रममा राख्ने तथा सडकमा बेसहारा छोडिदिने छोराछोरी पनि थुप्रै छन्। स्वार्थका लागि मातृभूमिलाई जातका नाममा, धर्म–संस्कृतिका नाममा टुक्रा–टुक्रा पार्न खोज्ने नक्कली नेताहरू पनि कम छैनन्। नक्कली नेताका कारण नै यो देश, नेपाल अहिले अँध्यारो सुरुङभित्र जाकिएको छ। वैशाख कृष्णपक्ष औंसीलाई मातातीर्थ औंसी, मातृ दिवस तथा आमाको मुख हेर्ने दिन पनि भनिन्छ। छोराछोरीले बिहानै उठी स्नान गरी आमालाई राम्राराम्रा लुगा तथा मीठामीठा खानेकुरा दिई र शास्त्रीय मान्यताअनुसार गुरु र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आशिर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् र कष्टपूर्ण काम सम्झने गर्छन्। शास्त्रमा हरेक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। यस दिन दिवंगत आमाको सम्झनामा थानकोट नजिक मातातीर्थमा ठुलो मेला लाग्छ। आमा नहुने नरनारी बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन्। सो तीर्थको परिसरमा सबैकी आमाको प्रतीकका रूपमा साझा आमाको मूर्ति पनि स्थापना गरिएको छ।

ADVERTISEMENT

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एक दिन एउटा गोठालाले उक्त चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो। अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके। तर आमा जीवित हुने गोठालाहरूले फ्याँकेका रोटी त्यहीँ रहे। आमा नहुने गोठालाहरूले फ्याँकेका रोटी मात्र गायब भए। कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी पनि आमा थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। यो कुरा चाल पाएपछि गाउँलेहरूले औंसीका दिन मृत आमाहरू त्यस ठाउँमा आई छोराछोरीहरूले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामाकरण गरे। यसरी हरेक वर्ष यस दिन आमा नहुनेहरूले त्यो कुण्डमा नुहाएर मीठामीठा खाद्यवस्तु चढाई मातृ दिवस मनाउन थालेका हुन्।

नेपालमा जस्तै अन्य देशहरूमा पनि आआफ्ना मान्यताका साथ मातृ दिवस अर्थात् मदर्स डे मनाउने गरिन्छ। आमा छोराछोरीकी माता हुन्। देश जनताकी माता हुन्। त्यसैले त जन्मथलो (देश)लाई मातृभूमि भन्ने गरिन्छ। वास्तवमा माता र मातृभूमि एउटै कुरा हुन्। भनिएको छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् माता र मातृमूमि स्वर्गभन्दा पनि गरिमामय हुन्छन्। हाम्रा अधिकांश नेताका लागि मातृभूमि पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा कहिल्यै गरिमामय भएन।

भनिन्छ, अरूको लाख, आमाको काख। आमाको काख मात्रै भए पनि सन्तानहरूका लागि त्यो स्वर्ग हो। त्यही स्वर्गमा हुर्कन पाउनेहरू संसारका सबैभन्दा बढी भाग्यमानी हुन्छन्। आमाको कोखमा नौ महिना बसेर आमाकै काखमा हुर्कन पाउनु सन्तानका लागि सबैभन्दा ठुलो भाग्य हो। तर कसैलाई पनि सधैंभरि आमाको काख प्राप्त हुँदैन। त्यो किनभने मानिसको मृत्यु अवश्यम्भावी छ, मानिस जन्मिएपछि ढिलो चाँडो मर्नै पर्दछ। मानिस मरेपछि उसको भौतिक शरीर खरानी बन्दछ, माटोमा मिल्दछ। बाँकी केही रहन्छ भने मानिसका विचार, उनीहरूले गरेका कर्म तथा सम्झना बाँकी रहन्छ।

त्यसैले त कतिपय आफ्ना र राम्रा अनुहारहरू बेलाबेलामा स्मृतिमा आउने गर्दछन्। नचिनेका मानिसभन्दा चिनेका राम्रा मानिस, आफन्त, आमाबुबा, पतिपत्नी तथा छोराछोरीको बढी याद आउने गर्छ। त्यसैले मरेर पनि अमर रहन मानिसले असल काम गर्नुपर्छ। असल काम गर्ने मानिसलाई छोराछोरी र परिवारले मात्र होइन, सारा समाजले सम्झने गर्छ, राष्ट्रले सम्झने गर्छ, युगले सम्झने गर्छ।

त्यसैले मरेर पनि अमर रहन मानिसले असल काम गर्नुपर्छ। असल काम गर्ने मानिसलाई छोराछोरी, परिवार, आफन्त, समाज, राष्ट्र र युगले सम्झने गर्छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button