पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ । सामुदायिक विद्यालयमा जति विद्यार्थी छन्, तिनमा गरिब, दलित, जनजाति समुदायका विद्यार्थी बढी देखिन्छ । सामुदायिक विद्यालयमा विद्यार्थी कम देखिनुका कारण थुप्रै छन् । जस्तो– प्रायः स्कुलमा प्रधानाध्यापकहरू विद्यालयको काम देखाउँदै आफ्नो निजी काममा लाग्छन् र विद्यालयमा अनुपस्थित हुन्छन् । प्रधानाध्यापक अनुपस्थित हुँदा विद्यार्थी खुसी बन्छन् ।प्रायः शिक्षकहरू पेसाप्रति इमानदार छैनन् । शिक्षकहरू समयमा कक्षामा जाँदैनन् र विद्यार्थीलाई पढाउनेभन्दा गफ लगाउनेतिर बढी केन्द्रित हुन्छन् । उनीहरू विद्यार्थी कम आऊन्, छिटो छुट्टी होस् भन्ने चाहन्छन् । विद्यार्थीले पनि शिक्षकलाई टेर्न छोड्छन् । सोचे अनुसारको सुविधा नपाउँदा पनि शिक्षकमा जोस जाँगर हराएको देखिन्छ । जथाभावी सरुवाबढुवाको अर्को समस्या छ । अभिभावकहरू आफ्ना छोराछोरीलाई दोषी देख्दैनन् तर शिक्षकको एउटा कमजोरीलाई प्रचारप्रसार गर्छन् ।आफ्ना छोराछोरी निजी स्कुलमा पढाउने तर सामुदायिक विद्यालयमा राजनीति गर्नेहरू पनि छन् । उनीहरू सामुदायिक स्कुलको वातावरण सुधारमा कहिल्यै गम्भीर हुँदैनन् । विशेष गरी व्यवस्थापन समितिका नाममा विद्यालयमा राजनीति हाबी भएको छ । निजी स्कुलमा पढ्ने छोराछोरीलाई अभिभावकले चाहिनेभन्दा बढी हेरचाह गर्छन् । सामुदायिक विद्यालयमा छोराछोरी पठाउने अभिभावकले त्यसरी चासो दिँदैनन्, शिक्षकप्रति गलत भावना राख्छन् र प्रअलाई विभिन्न आरोप लगाउँदै हिँड्छन् ।
अहिलेका विद्यार्थी अलि कम मिहिनेत गर्छन् । प्रायः विद्यार्थी घरको कामसँग मतलब राख्दैनन्, पढाइमा पनि चासो दिँदैनन् । अभिभावकले पर्याप्त सुविधा दिन्छन् तर ती सुविधालाई उनीहरूले दुरुपयोग गर्छन् । पढाइको बहानामा गलत बाटो अपनाउनेहरू पनि छन् । बाबुआमालाई ढाँट्ने गर्छन् । कतिले त अभिभावकलाई पनि टेर्दैनन् । पहिलेका विद्यार्थी गुरुदेखि डराउँथे, अहिले विद्यार्थीसँग गुरु डराउनुपर्ने अवस्था छ ।

सरकारले सामुदायिक विद्यालयप्रति गम्भीर चासो लिएको छैन । आर्थिक अवस्था राम्रो भएकाहरूले छोराछोरीलाई निजी विद्यालयमा पठाइहाल्छन्, महँगो शिक्षाको मारमा गरिब निमुखा मात्र पर्छन् । सार्वजनिक शिक्षा खस्किनुमा सरकार बढी जिम्मेवार देखिन्छ । यसमा स्थानीय तह र सम्बन्धित समुदायले बेलैमा ध्यान दिनुपर्छ ।



