काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।
भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरियतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।आईसीसीको टी-२० आई वरियतामा नेपाल १८ औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।
हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुँदा सोझै पुगेका छन् । त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अव इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्ड मध्य दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।
आईसीसी टी-२० आई वरियतामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । सुपर ८ मा पुग्न नसकेपनि न्युजिल्यान्ड र पाकिस्तान वरियताको आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग पक्का छ ।
अमेरिका हालसम्म २०२६ को टी२० विश्वकपमा सोझै छनोट हुने एक्लो एसोसिएट टोली हो । समूह ए मा ४ खेलमा ५ अंकका साथ सुपर ८ मा स्थान बनाउँदै २०२६ को विश्वकपमा पुगेको हो ।
समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया पुगेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड त्यसको दौडमा छन् । इंग्ल्यान्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल आज राती इंग्ल्यान्डले नामिबियासँग खेल्छ । उता स्कटल्यान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले भोली अष्ट्रेलियासँग खेल्नेछ ।
स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ खेल्नेछ । अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका साथ सुपर ८ मा पुग्ने देखिन्छ । यदि सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरियताको आधारमा विश्वकप खेल्ने पक्का छ ।
समूह डी मा बंगलादेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार बंगलादेशले नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले सोमबार श्रीलंकासँग खेल्नेछ । यदि बंगलादेश सुपर ८ मा पुग्न नसके नेपालसँगै एसिया छनोट खेल्ने सम्भावना बढी रहन्छ ।