उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ ।
बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसिसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

उनले भने, ‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौँ । यसका लागि आइसिसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ । उनको फिटनेस टेस्ट पनि हुँदै छ । केही दिन भित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौँ ।’
नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरू खेलिरहेको छ ।
स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् ।
१० जना रिजर्भ खेलाडीसमेत अमेरिका पठाइसकेको नेपालले सन्दीपलाई टोलीमा समावेश गर्न एक जना आउट गर्नुपर्ने हुन्छ । कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले बताए ।





