जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटेर सहयोग मागेका छन् ।

संघीय सरकारबाट बाहिरिएको भन्दै राजीनामा पठाउनुअघि उपेन्द्रले सोमबार बिहान लोसपा अध्यक्ष ठाकुरको निवासमा पुगेर भेटवार्ता गर्दै सहयोग मागेका हुन् ।

लोसपाका महासचिव डा. सुरेन्द्र झाले पनि भेटवार्ता भएको पुष्टि गरे ।

‘जसपाका अध्यक्ष उपेन्द्रजी हाम्रो अध्यक्ष ठाकुरजीसँग भेट गर्न आउनुभएको थियो,’ झाले भने, ‘विगतका कुरा बिर्सेर तत्काल सहकार्य गरेर जान उहाँले सहयोग माग्नुभयो ।’

मधेश प्रदेशमा मधेशवादी शक्तिकै नेतृत्वमा सरकार बन्नुपर्ने लोसपाको चाहना रहेको जवाफ ठाकुरले दिएको झाले खुलाए ।

‘हामी पनि मधेश प्रदेशमा मधेशवादी शक्तिकै नेतृत्वमा सरकार बन्नुपर्ने भनिरहेका छौं,’ महासचिव झाले थपे, ‘मधेशमा कस्तो गठबन्धन बन्ने भन्ने विषयमा विभिन्न राजनीतिक दलसँग संवाद गर्नका लागि अध्यक्षज्यूले लोसपका उपाध्यक्ष जितेन्द्र सोनलजीलाई जिम्मेवारी दिनुभएको छ ।’

ठाकुरले यादवलाई तत्काल केही प्रतिबद्धता वा आश्वासन दिइसकेका छैनन् ।

मधेश प्रदेश सभाका सांसद समेत रहेका लोसपा नेता जीतेन्द्र सोनलले अन्य दलहरूसँग विभिन्न विकल्पका लागि संवाद गरिरहेको खुलाए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक नेपाली कांग्रेसका मधेश प्रदेश अध्यक्ष कृष्णा यादवले पनि ठाकुरलाई भेटेर मधेश प्रदेशको गठबन्धनबारे प्रस्ताव गरेका छन् ।

‘जसपा नेपाल विभाजन भएको अवस्थामा जसपा नेपालसँग कति सांसद रहने भन्ने कुराले पनि कस्तो गठबन्धन बन्ने भन्ने तय होला,’ महासचिव झाले थपे, ‘जनमत पनि मधेशवादी पार्टी हो । जसपा नेपाल र लोसपा नेपाल पनि मधेशवादी पार्टी नै हुन् । अब यी ३ मध्ये कुनै एक दलको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो ।’

लोसपा अहिले संघ र मधेश प्रदेशमध्ये कतै पनि सरकारमा छैन । आफूहरू हरेक विकल्पका लागि खुल्ला रहेको झाले खुलाए ।

आइतवार मधेश प्रदेशमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनमत र लोसपाबीच नयाँ गठबन्धन बनाउने विषयमा मधेश प्रदेशका सांसदबीच छलफल भएपनि गठबन्धन भने बनिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!