जनकपुर । मिथिला माध्यमिकी परिक्रमा शनिबारबाट सुरु हुँदैछ । यस पटकको यो परिक्रमामा मासु र मदिरामा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रत्येक वर्ष ७ दिनसम्म परिक्रमा गर्ने मिथिला माध्यमिकीका सहभागीले विश्राम गर्ने स्थल तथा आसपासका १ किलोमिटर क्षेत्रमा मासु मदिरा बिक्रीमा जिल्ला प्रशासन कार्यालय, धनुषाले रोक लगाएको हो ।

‘मिथिला माध्यमिकी परिक्रमाको डोला विश्रामस्थलमा पुग्नुभन्दा २४ घण्टा अगावैदेखि त्यस क्षेत्रमा पशुपन्छीको वध तथा मासु मदिरा बिक्री वितरण एवं सेवन नगर्न/नगराउन सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस पटक फागुन २९ गते शनिबारबाट सुरु हुने मिथिला माध्यमिकी परिक्रमाको टोली पहिलो दिन जनकपुरधामको हनुमानगढीमा विश्राम गर्ने भएका छन् ।

यस्तै, चैत ८ गते पर्वतामा, ९ गते धनुषाधाममा, १० गते सत्तोषरमा, ११ गते औरहीमा, १४ गते जनकपुरधाममा र १५ गते अन्र्तगृही परिक्रमा जनकपुरधाममा बिश्राम गर्ने तालिका बनाइएको छ ।

के हो मिथिला माध्यमिकी परिक्रमा ?

मिथिला क्षेत्रमा प्रत्येक वर्ष होलीको दुई साता अघि यो परिक्रमा सुरु हुन्छ । १५ दिनसम्म विभिन्न स्थलको पैदलै परिक्रमा गर्नु नै मिथिला माध्यमिकी परिक्रमा हो ।

१५ दिने परिक्रमा अन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन रही आएको छ । यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।

माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी कुल १ सय २० किलोमिटर भू–भागमा साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्छन् । यसमा नेपाल तथा भारतका समेत साधुसन्त र भक्तजनको उल्लेख्य सहभागिता रहने गर्दछ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तनसहित रामजानकीको डोला जनकपुरधामस्थित रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याएर परिक्रमा सुरु गर्ने चलन रही आएको छ ।

जानकारहरुका अनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ । यस परिक्रमामा सहभागी भएमा पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने विश्वास रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!