काठमाडौं । भारत र बेलायतमा फेला परेका कोरोनाको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ।
भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले हाइब्रिड भेरियन्ट फेला परेको दाबी गरेका हुन्।
‘भियतनामले भारत र बेलायतमा फेला परेका दुई भेरियन्टका विशेषताहरुको संयोजन गर्दै नयाँ भेरियन्ट पत्ता लगाएको छ। यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको छ। हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक छ,’ उनले सरकारको एक बैठकमा भने।
भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
सन् २०१९ को अन्तिममा चीनको उहानमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।
भियतनाम भेटिएको भनिएको नयाँ भेरियन्टको नाम भने राखिएको छैन। हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल गरी चारवटा भेरियन्टलाई मात्र पुष्टि गरेको छ ।
भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुले आधिकारिक धारण सार्वजनिक गरेका छैनन्।
अनुसन्धानले फाइजर र एस्ट्राजेनेका दुई डोज खोप लगाएका व्यक्तिमा भारतीय भेरियन्टले असर नगर्ने देखाएको छ। तर, एक डोज खोप लगाएकामा भजे जोखिम रहेको बताइन्छ।
भियतनामा हाल कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको छ। हालसम्म भियतनाममा ६ हजार ७०० कोरोना संक्रमित फेला परेका छन्। तीमध्ये आधाभन्दा बढी यस वर्षकाे अप्रिलपछि फेला परेका संक्रमित हुन्।
हालसम्म कोरोनाका कारण भियतनाममा ४७ जनाको मृत्यु भएको छ।