धनुषाको ढल्केवर चौकदेखि ४० किलोमिटर दक्षिणमा पर्छ जलेश्वर बजार । हुलाकी राजमार्गसँग जोडिएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा बस्दै आएका एक मुस्लिम परिवारमा वि.सं.२०४५ मा लालबाबु कवारी र सुनैता खातुनको जेठो सन्तानको रूपमा यास्मिनको जन्म भयो ।
त्यस वेला मधेशी वा मुस्लिम समुदायमा विवाह हुन अहिले जस्तो सहज थिएन । विभिन्न सामाजिक कुरीतिसँग जुध्दै यास्मिनले संघर्ष गरिरहिन् । उनीपछि चार भाइबहिनी जन्मिए । यास्मिन शिक्षामा अगाडि बढ्न थालेसँगै भाइबहिनीलाई पनि सहज हुँदै गयो । बालविवाहको बलियो प्रभावबीच यास्मिन समाजका कुरीतिसँगै जुध्दै पढिरहिन् । उनलाई बुबाआमाले सक्दो साथ दिए । उच्च शिक्षाको अवसर प्राप्त गरिन् । हुन त त्यस वेला उनलाई विवाहको दबाब नआएको होइन । तर, बुबा प्रगतिशील विचार राख्ने भएकाले छोराछोरीलाई शिक्षा आर्जन गराउन जुटे । पढाइमा अब्बल यास्मिन यसैलाई अवसरको रूपमा रूपान्तरण गर्न कम्मर कसेर जुटिन् ।
बुबा लालबाबु सम्झिन्छन्, ‘यास्मिन जेठी छोरी भएकाले विवाहको प्रेसर सानै उमेरमा आएको थियो । आफू त्यसतर्फ ध्यान नदिई पठनपाठनमा छोराछोरीलाई अगाडि बढाउन लागेँ ।’ त्यही भएर उनले जलेश्वर नगरपालिका–२ मा रहेको शिशु निकुञ्ज इंग्लिस विद्यालयबाट आधारभूत तहको शिक्षा आर्जन गर्न पाइन् । बुबा प्रगतिशील विचारधाराका भएकाले उनी बुर्काभित्र बाँधिनुपरेन ।
खुलापनको अनुभूति गर्न पाएकी यास्मिन माध्यमिक तहको शिक्षा आर्जन गर्न काठमाडौं लागिन् । त्यसवेला उनका बुबा झापामा प्रशासकीय अधिकृत थिए । काठमाडौंको मैतीदेवीमा रहेको न्यू समिट इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि थप पढ्न भारततर्फ लागिन् । भारतको राजस्थानबाट व्यवस्थापन संकायमा स्नातक गरिन् ।
यास्मिनको सबैभन्दा ठूलो सपना कतारमा नेपालीमाथि लाग्दै आएको ‘लेबर’ ट्यागलाई बदल्नु हो । भन्छिन्,‘नेपालीमाथि लाग्दै आएको लेबरको ट्याग बदल्न प्रयास गरिरहेकी छु । हामीमाथि अरूले हेर्ने नजर फेरिँदै छ ।’
बुबाको बलियो साथ र प्रोत्साहनले अगाडि बढ्ने अवसर पाएको यास्मिन बताउँछिन् । ‘बुबा मेरो ठूलो प्रेरणाको स्रोत हुनुहुन्छ,’ यास्मिन भन्छिन् । व्यवस्थापनमा स्नातक पूरा गरेकी यास्मिन रोजगारका निम्ति काठमाडौं फर्किइन् । त्यसपछि रोजागरीका क्रममा सन् २०११ मा किंग्सफिसर एयरवेजमा आबद्ध भइन् । गेस्ट सर्र्भिस एजेन्टका रूपमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किंग्सफिसर एयरवेजमा आबद्ध भएर काम गरिन् । त्यहाँ उनले करिब डेढ वर्षजति काम गरिन् । त्यहाँ काम गर्दै गर्दा उनको विवाह धनुषाको विदेह नगरपालिका–६ का रुस्तम राइनसँग भयो । विवाह हुँदा यास्मिनका श्रीमान् कतार बस्दै आएका थिए । राइन कतारमा इलेक्ट्रिकल इन्जिनियरको रूपमा कार्यरत छन् ।
विवाहपछि उनको जीवनमा नयाँ आयाम थपिने क्रम सुरु भयो । श्रीमान् कतारमा बस्दै आएकाले उनी पनि उतै सर्नुपर्ने अवस्था आयो । त्यहीबीचमा उनले कतार एयरवेजमा ‘कस्टमर सर्भिस एजेन्ट’का रूपमा काम गर्ने अवसर पाइन् । त्यसपछि किंग्सफिसर एयरवेजमा काम छाडिदिइन् । आफ्ना इन्जिनियर श्रीमान्सँगै कतारमा बस्न नेपाल छाडिन् ।
कतार यास्मिनका निम्ति नयाँ गन्तव्य थियो ।
इन्जिनियर श्रीमान्को गृहणीका रूपमा मात्रै बस्नुपर्ने हो कि भन्ने भय पनि उनको मनमा थियो । डरका बीच उनी दृढ इच्छाशक्तिका साथ अगाडि बढिरहिन् । कतार आएर केही महिना गृहिणी बनेकी उनी आफ्नो हुनर पस्किन सुरुमा जागिर खोज्न थालिन् । यही क्रममा उनी एक म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा आबद्ध भइन् । त्यहाँ उनले रिसेप्सनिस्टको रूपमा काम गरिन् ।
रिसेप्सनिस्टका रूपमा कार्यरत यास्मिन आफूमा रहेको दृढता र कामप्रतिको जवाफदेहिताले गर्दा सो कम्पनीको मुख्य प्रशासनिक व्यक्तिको भूमिकामा बढुवा भइन् । वर्ष दिनभित्र कतारजस्तो देशमा आफ्नो पकड जनाउन थालिन् । त्यसपछि उनी सहायक अपरेसनल प्रबन्धक भइन् । त्यहाँ उनी करिब पाँच वर्ष काम गरिन् । त्यहाँ रहँदा उनले कतारका प्रभावशाली कम्पनीका सिइओहरू र प्रबन्धकहरूसँग व्यावसायिक सम्बन्ध बनाउन सफल भइन् । त्यसपछि उनले युकेबाट डिप्लोमा इन हेल्थ एन्ड सेफ्टीमा लेबल–६ को कोर्स पूरा गरिन् ।
गृहिणीदेखि प्रशिक्षकसम्म
यास्मिन अहिले कन्सल्टेन्सी सञ्चालन गर्दै छिन् । १० वर्षअघि श्रीमान् रुस्तमले फ्यामिली भिसाको सदुपयोग गर्दै यास्मिनलाई कतार आउन आग्रह गरेकी थिइन् । गृहिणीको रूपमा कतार प्रवेश गरेकी उनले आफ्नै व्यवसाय सुरु गरिन् । आफूसँग भएको सीप, ज्ञानलाई उनले उपयोग गर्न एउटा प्लेटफर्मको रूपमा कम्पनी सुरु गरिन् ।
कतारमा केही नेपालीले होटेल, रेस्टुरेन्ट, म्यानपावर सप्लायर्स, ट्राभल्स र टुर्सजस्ता व्यवसाय अपनाएका छन् । यास्मिन अरूभन्दा पृथक् रूपमा कन्सल्टेन्सी खोलेर प्रशिक्षण दिनमा तल्लीन छिन् । यास्मिनले अरूभन्दा भिन्न सुरक्षासम्बन्धी प्रशिक्षणमा आफूलाई अभ्यस्त बनाएकी छिन् । निर्माण र व्यवस्थापनको क्षेत्रमा काम गर्नेलाई उनले प्रशिक्षण दिँदै आएकी छिन् । जसअन्तर्गत विगत १० वर्षमा यास्मिनले सात लाख मजदुरलाई, ६ हजारभन्दा बढी म्यानेजर, इन्जिनियरलगायतलाई सुरक्षित रूपमा काम गर्न र लिडरसिपको तालिम दिएकी छिन् ।
टुटिस म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा पाँच वर्ष काम गरेपछि नयाँ कम्पनीका अपरेसन म्यानेजरको रूपमा काम गर्ने प्रस्ताव यास्मिनलाई प्राप्त भयो । त्यस बखत उनी गर्भवती थिइन् । आफ्नो प्रभाव राम्रो छाड्न सफल भएकाले नयाँ कम्पनीले यास्मिनलाई गर्भवती भएको जानकारी हुँदा पनि काममा राख्न चाह्यो । उनले नयाँ कम्पनीमा पनि काम थालिन् । उनी एक दिन घरमा बसेर कतारमा आफ्नै ट्रेनिङ कन्सल्टेन्सी सुरु गरे कस्तो होला भनेर सोच्दै थिइन् । उनले यो विचार आफ्नो पतिलाई सुनाइन् । पतिको साथ पाइन् । चुनौतीपूर्ण ठाउँ हुँदाहुँदै पनि आफूभित्र बढेको आत्मविश्वास र व्यावसायिक सम्बन्धको आडमा उनी आफ्नो नयाँ सपना साकार गर्न अगाडि बढिन् ।
कतारमा उनले ‘प्रशिक्षण र परामर्श केन्द्र’ स्थापना गरिन् । जसका निम्ति कतारसँगै अन्तर्राष्ट्रिय विभिन्न संंघसंस्थाको अनुमति आवश्यक थियो । आफ्नो व्यावसायिक सम्बन्धका आधारमा उनी कतारको सरकारीसँगै अन्तर्राष्ट्रिय अनुमतिहरू पाउन सफल भइन् । त्यसपछि एउटा कुर्सी र डेस्कबाट आफ्नो ‘क्युएसटी ट्रेनिङ एन्ड कन्स्ल्टेन्सी’ कम्पनी सुरुवात गरिन् ।
उनको मुख्य ध्येय नै कतारमा बस्दा नेपालीमाथि लाग्दै गरेको ‘लेबर’ अर्थात् श्रम मजदुरको ट्यागलाई बद्ल्नु रह्यो । त्यही भएर उनले कम्पनीलाई प्रशिक्षणलगायत सेवा प्रदान गर्नेमा केन्द्रित गरिन् । स्वास्थ्य र सुरक्षा, मानव संसाधन व्यवस्थापन, डकुमेन्ट कन्ट्रोलर, टिमवर्कजस्ता क्षेत्रमा आफ्नो कम्पनीलाई अगाडि सारिन् ।
कतारले आयोजना गरेको सन् २०२२ को विश्वकप फुटबलका दौरान उनले धेरै क्षेत्रका व्यक्तिलाई सुरक्षा र व्यवस्थापनको प्रशिक्षण दिएकी थिइन् । कतारजस्तो देश, जहाँको व्यापार व्यवसायमा भारतसँगै शक्तिशाली देशका व्यक्तिको पहँुच र पकड छ, नेपालीलाई एउटा सामान्य लेबरका रूपमा गणना गर्ने त्यस्तो ठाउँमा आफू नेपाली भएर काम गर्न पाउँदा, उनीहरूलाई प्रशिक्षण दिन पाउँदा गर्वको अनुभूति हुने गरेको उनी बताउँछिन् । कतारको बजारमा आफूलाई नेपाली भनेर चिनाउन पाउँदा गर्व महसुस भएको उनी बताउँछिन् । उनी आफूलाई बुबा लालबाबुको कपिपेस्टको रूपमा अथ्र्याउने गर्छिन् । ‘म बुबाको कपिपेस्ट हुँ, जस्तो लाग्छ,’ यास्मिन भन्छिन् ।
यास्मिनको सबैभन्दा ठूलो सपना कतारमा नेपालीमाथि लाग्दै आएको ‘लेबर’ ट्यागलाई बदल्नु हो । भन्छिन्, ‘नेपालीमाथि लाग्दै आएको लेबरको ट्याग बदल्न प्रयास गरिरहेकी छु । हामीमाथि अरूले हेर्ने नजर फेरिँदै छ ।’