
सचिवालय बैठकमा सहभागी हुन नेकपा एमालेका शीर्ष नेताहरू जनकपुरधाम हुँदै सिरहाको धनगढीमाइ नगरपालिका-१४ सर्रेअम्वास पुग्दै छन्।
सर्रेअम्वासको काठेघरमा हुन लागेको सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानबाट जनकपुरधाम अवतरण भएर सडक मार्गबाट सर्रेअम्वासका लागि हिडेका छन्।

काठमाडौंबाट जनकपुरधाम उडान नं. ५०१ जहाज ९ एन–एजेशून्य कलसाइ भएकोमा प्राविधिक समस्या देखिएपछि उडेको २३ मिनेटमा जहाजलाई पुनः काठमाडौं अवतरण गराई एमाले नेताहरूसहित यात्रुलाई अर्को जहाजबाट जनकपुरधाम पठाइएको हो।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिराटनगर हुँदै सडकमार्गबाट कार्यक्रमस्थल पुग्दै छन्।
बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्। सङै, केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ।
अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए। २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा सचिवालय बैठक आयोजना गरेको हो।
सर्रेअम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ। त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए। सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको एमाले अध्यक्ष केपि शर्मा ओलीले शिलान्यास गरिनेछ।
जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरुलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ।