सरोज कुमार पासमान
सिरहा । सिरहा सदरमुकामको मुख्य सडकमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरी चुक्दै आएको छ ।
एकातिर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी असफल भईरहेको छ । अर्कोतिर नागरिकको जीउज्यान नै जोखिममा पर्ने गरी छाडा पशुचौपायाले सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्न वेवास्ता गर्दै आएको छ । जसले दुर्घटनाका छिटफुट घटनाहरुमा दैनिकजसो सदरमुकाममा सिरहामा घट्ने गरेको छ ।

यता सिरहा नगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा जोड दिन नसक्दा सवारी आवगमन नै प्रभावित हुने गर्छ ।
सिरहा नगरपालिकाले पटकपटक छाडा पशुचौपाया नियन्त्रण लिने गरी सूचना जारी गर्ने गरेको छ । केही समय अघि सिरहा नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रणको प्रयास गरेपनि त्यसलाई दिगो दिन सकेको छैन् । सदरमुकाममा दिगो रुपमा छाडा पशु चौपायाको समाधान हुने गरी सिरहा नगरपालिका र ट्राफिक प्रहरी कार्यालयले योजना बनाउन जरुरी छ । छाडा पशु चौपायाका कारण सडकमा हुने दुर्घटनाको जोखिम बढेको छ । आफ्नो गति अनुसार गुडिरहेको सवारीसाधन अगाडी छाडा पशु चौपाया आईपुग्दा त्यसले जीउज्यानको जोखिम थपिने गरेको छ ।
विशेषगरी सदरमुकाम सिरहाको सडकमा गाईगोरु, बाछा–बाछी, बाख्राबाख्री र कुकुर लगायतका पशु चौपायाको बासस्थान बनेको छ । उसो त कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, छाडा पशु चौपाया दिगो रुपमा व्यवस्थित गर्न सिरहा नगरपालिकाले सकेको छैन् । खासगरी सडकमा फाल्ने फोहरका कारणले पनि पशुचौपायाको बसाई सडक छेउछाउ नै रहने गरेको छ ।
छाडा पशुचौपाया सम्बन्धी कानूनी व्यवस्था पनि छ । नेपालको संविधानले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापनको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ । तर, स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनका लागि ठोस कदम चालेका छैनन् ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले छाडा पशु चौपाया सडकमा नछाड्न पटकपटक आग्रह गरिएको बताएका छन् । सिरहा नगरपालिकाले दिगो रुपमा समाधानका उपाय खोजिरहेको भन्दै मेयर डा यादवले चाँडै नै छाडा पशु चौपायाको विषय समाधान हुने बताएका छन् । ट्राफिक प्रहरी र नगर स्वयमसेवक परिचालन गरी छाडा पशु चौपाया सदरमुकामको मुख्य सडक क्षेत्रमा रह्ने वातावरणको अन्त गरिने मेयर डा यादवले बताएका छन् ।



