सिरहा । पूर्वपश्चिम राजमार्गको चोहर्वा चौकदेखि सदरमुकाम सिरहा हुँदै सीमावर्ती चन्द्रगंञ्ज माडर बजार भएर सीमावर्ती लचकाटोलसम्म करिब २७ किलोमीटर सडक छ । भारतबाट पूर्वपश्चिम राजमार्ग जोड्न अहिले ‘एनएच–२०’ नाम दिएर सडक स्तोरोन्नतीको केही काम सुरु भएको छ । जस अन्र्तगत पहिलो चरणमा सहिद राजेश ठाकुर पार्कदेखि बहिरा विद्यालयसम्म करिब अढाई किलो सडक निर्माणको काम भईरहेको छ ।
४० करोडको बजेटमा घटेर निर्माण कम्पनी ओम साईराम कन्स्ट्रक्शनले २०७९ असार २३ मा सम्झौता गरेको थियो । चार लेन सडक बनाउने, ढल बनाउने जस्ता निर्माण कार्य पूरा गर्न साईरामले २४ करोड ९८ लाख ७१ हजार ५२१ रुपैयाँमा सम्झौता गरेको थियो । जस अन्र्तगत अहिले सडक कालोपत्रेको काम पनि सुरु भएको छ । यसरी हेर्दा अढाई किलोमीटरमा चारलेन सडक विस्तार गर्न, ढल, पार्किङ स्थल, पैदलयात्री चल्नेमार्ग बनाउन सरदर एक किलोमीटरमा १० करोड रुपैयाँ खर्च देखिएको छ ।

अर्को पनि निर्माण कार्यको सम्झौता भएको छ । यसै सडकखण्ड अन्र्तगत संजय–सुभाती–श्रीकृष्णा जेभीले गत वैशाख ११ मा सडक स्तोरोन्नती गर्ने गरी निर्माण कार्यको सम्झौता गरेको छ । ४ करोड १० लाख २ हजारमा सो निर्माण कम्पनीले सम्झौता गरेको छ । जस अन्र्तगत सहिद राजेश ठाकुरपार्कदेखि हेमनारायण चौकसम्म सडकमा दुईतर्फ आरसीसी ढलान गरिएको छ ।
चालू आर्थिक वर्षमा ९ करोड
सिरहा नगरपालिकाले गत वैशाख १२ देखि सिरहा सदरमुकामको मुख्य बजार क्षेत्रसँगै माडर बजारमा डोजर चलायो । बजेटको सुनिश्चितता नहुँदै डोजर चलाएपछि आलोचना पनि भएको थियो । सदरमुकामदेखि सीमाक्षेत्रसम्म करिब ७ किलोमीटर सडक बनाउन ७० करोड हाराहारीमा बजेटको आवश्यकता पर्छ । तर चालू आर्थिक वर्षमा सरकारले ‘उटको मुखमा जीरा’ भन्ने उखान झैं ९ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यस सडकखण्डलाई समेटिएन् । तर सिरहा नगरपालिका र सडक डिभिजन कार्यालयको लविङले मन्त्रालयले केही रकम मात्र छुट्ट्याएको छ ।
सदरमुकामदेखि माडरसम्मको सडकलाई थप सौन्दर्यकरण गरी बनाउनु पर्ने आवश्यकता छ । बजारलाई व्यवस्थित, सुन्दर र भविष्यमा ट्राफिक व्यवस्थापनको विषय लगायतका अति आवश्यक पक्षलाई समेटिने गरी बजेटको सुनिश्चितता गर्नुपर्नेथ्यो । त्यसो नगरी ९ करोड रुपैयाँ विनियोजन गरेको छ । यसले सीमादेखि चोहर्वासम्मको एनएच–२० फोरलेन सडक स्तोरोन्नती हुन वर्षौ लाग्ने सम्भावना वढेको छ ।
यस विषयमा सरोकारवाला कार्यालय, राजनीतिक दलले चासो राख्दै बजेट थप गर्न र सदरमुकाम देखि दक्षिणीसीमा सम्मको सडक निर्माण कार्यलाई तत्काल सुरु गर्न प्रयाप्त बजेटको सुनिश्तिता पहल गर्नु पर्छ ।




