
सिरहा । देशको दोस्रो जेठो चन्द्र माध्यमिक विद्यालय सिरहाले पठनपाठन प्रविधिमैत्री बनाउन शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । विद्यालयले नमुना विद्यालय विकास कार्यक्रम मार्फत विद्यालयमा पठनपाठन गराउँदै आएका १७ जना शिक्षकलाई ल्याप्टप वितरण गरेको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नमुना विद्यालय विकास गुरुयोजना अनुसार शिक्षक कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो ।
ल्याप्टप वितरण गर्दै प्रध्यानाध्यापक मधुसुदन कर्णले शिक्षकहरुलाई समय अनुसार आफूलाई प्रविधिमैत्री बनाएर पठनपाठन गराउनु आग्रह गरेका थिए । आधारभूत तहका शिक्षकहरुले यस पटक ल्याप्टप प्राप्त गरेको भन्दै प्रअ कर्णले आधारभूत तहबाटै प्रविधिमैत्री पठनपाठन गराउने उदेश्य अनुसार विद्यालय अगाडी बढेको बताएका छन् । ‘यसअघि माध्यमिक तहका शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको थिए,’प्रअ कर्णले भने,‘यस पटक आधारभूत तह र प्राविधिक विषयका शिक्षकलाई पनि दिए । यसले शैक्षिक सुधारमा भूमिका खेल्छ ।’
नमुना विद्यालय विकास गुरुयोजना अनुसार नै गर्मी विदामा पनि चन्द्र माध्यमिक विद्यालयमा कोचिङ कक्षा संचालनमा रहेको छ । कक्षा ८ देखि १० सम्मका बालबालिकालाई कोचिङ कक्षामा सहभागि गराईएको विद्यालयले जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्र्तगत नै विद्यालयलाई आवश्यक फर्निचर लगायतका सामग्री पनि खरिद गरिएको छ ।
चन्द्र माध्यमिक विद्यालय देशको दोस्रो पूरानो विद्यालय रहेको छ । अहिले ३ हजार वढी विद्यार्थी आधारभूत तहदेखि माध्यमिक तहसँगै सिभिल इन्जिनियरीङ, इलेक्ट्रिकलमा अध्ययन गरिरहेका छन् ।