मधेस प्रदेश। सशस्त्र प्रहरीले बुधबार राति सर्लाहीमा ठुलो परिमाणमा फर्सीको बीउसहित पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सर्लाहीको बलरा नगरपालिका–२ स्थित हथियौल–छनकी नाका हुँदै अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको अवस्थामा करिब दुई सय बोराभन्दा बढी फर्सीको बीउ संगै चारवटा भारतीय नम्बर प्लेटका पिकअप भ्यान र एउटा नेपाली नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीका अनुसार सर्लाहीको पश्चिमी सीमावर्ती नाकाबाट ठूलो परिमाणमा फर्सीको बीउ तस्करी गरी भारततर्फ लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि विशेष निगरानी बढाइएको थियो। सशस्त्र प्रहरीटोलीले बिआर–०६ सिइ ९६२९, बिआर–०६ सिएच ११२१, बिआर–०६ सिसी ९४७१, बिआर–३० सिबी २७७२ नम्बरका भारतीय पिकअप तथा मधेस प्रदेश–०३–००२ ख ०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

तस्करहरूले नेपाली ट्रकमार्फत सीमा क्षेत्रसम्म ल्याइएको फर्सीको बीउ भारतीय नम्बरका पिकअपमा लोड गरी भारततर्फ लैजाने तयारी गरिरहेका बेला सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली देख्नासाथ तस्करहरू सवारीसाधन र मालवस्तु छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासका बाहिनीपति डिआइजी विष्णुप्रसाद भट्टको निर्देशनमा सशस्त्र प्रहरी बल मलङ्गवा गुल्म तथा फेनहारा गुल्मको संयुक्त टोली परिचालन गरिएको थियो।

डिआइजी भट्टले मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जाल नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार पछिल्लो समय विभिन्न नाकामा निगरानी बढाइएपछि तस्करीका गतिविधिमाथि प्रभावकारी नियन्त्रण हुन थालेको छ।

‘मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा वर्षौँदेखि जरा गाडेर बसेका तस्करहरूले सीमा क्षेत्रमा नेपाली ट्रकबाट भारतीय नम्बरका गाडीमा फर्सीको बीउ तस्करी भइरहेको गोप्य सूचनाको आधारमा हाम्रो टोली देख्नासाथ संलग्न व्यक्तिहरू फरार भए,’ डिआइजी भट्टले भने, ‘बरामद गरिएको फर्सीको बीउ र पाँचवटै सवारीसाधन आवश्यक कारबाहीका लागि मलङ्गवा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय