सडक विस्तार गर्न मेयर सहितको टोली तयार, विस्तार रोक्न आन्दोलन घोषणा

सिरहा । सिरहा नगरपालिका स्थापना भएको २७ वर्ष पुगेको छ । २०५३ सालमा सिरहा नगरपालिका स्थापना भयो । नगरपालिका स्थापना भएको २७ वर्षमा पनि नगरको मुख्य बजार क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन् । जिल्ला सदरमुकामको रहेको सिरहाको मुख्य सडकको खण्डहर र अव्यवस्थित रुपमा देखिदै आएको छ । सहिद राजेश ठाकुर पार्कदेखि मखनाहा सम्मको करिब तीन किलोमीटर सडक विस्तार नहुँदा बजारको सौन्दर्यतालाई नै गम्भीर असर पारेको छ । अर्कोतिर मुख्य प्रशासनिक केन्द्र सिरहा गाउँ झैं देखिएको छ ।

२७ वर्षमा चार मेयर
२७ वर्षमा चार जना मेयर सिरहा नगरपालिकाको नेतृत्वमा पुगेका छन् । २०५३ सालमा नगरपालिका घोषणा भएपछि प्रथम मेयरको रुपमा मुनेश्वर यादवले नगरपालिकाको जिम्मेवारी सम्हाले । त्यसपछि स्थानीय चुनाव नहुँदा रामनन्दन मण्डल मेयर भए । द्वन्दकाल र राजा ज्ञानेन्द्र शाहले कू गरेको समयमा सिरहा नगरपालिकाको मेयरको जिम्मेवारी अशेश्वर प्रसाद यादवले पाएका थिए । देशमा बदलाब आएपछि २०७२ मा संविधान जारी भयो । संविधान जारी भएपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पुनः दोस्रो कार्यकालको लागि अशेश्वर प्रसाद यादव जनतावाट अनुमोदित भएर पाँच वर्ष मेयरको जिम्मेवारी पूरा गरेका छन् ।

२०७९ को वैशाखमा सम्पन्न निर्वाचनबाट पूर्वमेयर यादव तेस्रो पटक नेतृत्वमा आउन चुनाव लडेपनी पराजित भए । २०७९ मा डा नविन कुमार यादव निर्वाचित भएर सिरहा नगरपालिकाको नेतृत्व तहमा पुगेका छन् । २७ वर्षमा चार जना मेयर भईरहँदा पनि सिरहा नगरपालिकाकाको मुख्य सडकको अवस्थामा सुधार भएको छैन् । यही अवस्थालाई चिर्न सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको नेतृत्वमा पहल भएको देखिन्छ । पछिल्लो नगरकार्यपालिकाको बैठकले सिरहाको सडकलाई विस्तार गर्ने अभियान सुरु गर्ने गरी निर्णय गर्यो र त्यसलाई कार्यान्वयनमा लैजाने जमर्को गरेको देखिन्छ ।

यसै क्रममा सिरहा नगरपालिका ६ र १६ मा सडक क्षेत्रलाई खाली गराउने काम भएको छ । विगतदेखि रोकिएको सडक विस्तारलाई अगाडी बढाउने काम भएको छ । सिरहा नगरपालिकाका कार्यपालिका सदस्य रविन्द्र साहले अब बजार क्षेत्र विस्तारको विकल्प नभएको र सम्पूर्ण नगरपालिकाले यस पटक नगरक्षेत्रको मुख्य सडकको विस्तारलाई प्राथमिकतमा राख्दै अगाडी बढेको बताएका छन् । राज्यको मापदण्ड अनुसार मुख्य सडक वीचदेखि १५/१५ मीटर खाली गरी व्यवस्थित सिरहा बनाउने अभियानलाई जोड दिन अगाडी बढिसकेको नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका कार्यपालिका सदस्य साहले बताएका छन् ।

सिरहा नगरपालिकाका मेयर डा यादवले ग्रिन र सुन्दर सिरहा बनाउने आफूहरुको अभियान अगाडी बढिसकेको र यसमा कसैले बाधा उत्पन्न नगरी सहज रुपमा अभियान पूरा हुन सहयोग गर्नुपर्ने बताएका छन् । ‘यो अभियान नगरवासीको रहेको छ,’डा यादवले भने,‘सवैको चाहना सदरमुकाम व्यवस्थित र सुन्दर हुनुपर्छ भन्ने छ । सिरहा नगरपालिका यस अभियानमा अगाडी बढेको छ । सवैजना यस अभियानमा जुटेर हातेमालो गर्दै सहयोग गर्नुपर्छ ।’

बार एशोसिएसन सिरहाका निर्वतमान अध्यक्ष अधिवक्ता विरेन्द्र कुमार सिंहका अनुसार सदरमुकाम सिरहाको मुख्य सडक विस्तार गर्नमा बाधक सधैं नेतृत्व गर्ने राजनीतिक नेतृत्व नै रह्ने गरेको बताउँछन् । २०३२ सालमा सडकको मापदण्ड तय भईसक्दा पनि सिरहा नगरपालिकाको नेतृत्व तहमा पुगेकाहरुले आफ्नो दायित्व निर्वाह गर्न नसक्दा अवस्था भयावह बन्न पुगेको अध्यक्ष सिंहको बुझाई छ । सडक विस्तारलाई रोक्न माफियाहरुले आफ्नो सक्रियता बढाउँदै नगरकै विकासको बाधक बन्दा पनि नियमनकारी निकाय मौन रहेको उनको दावी छ ।
नियमनकारी निकायको मौनताकै करण सडक क्षेत्रलाई अतिक्रमण गर्न लगाउने, आफ्नो व्यक्तिगत जग्गा जोगाउन सरकारी जग्गामा भवन बनाउन लगाउने जस्ता काम भएको भन्दै अध्यक्ष सिंहले यस विरुद्धमा यहाँका नागरिक समाज र आम नागरिक उठ्नु पर्ने बताउँछन् । सडक विस्तारबाट प्रभावित बन्ने सक्ने व्यक्तिको सूची बनाएर आवश्यक बन्दोबस्ती गर्दै अगाडी बढ्नु जरुरी रहेको जानकारहरुको भनाई छ । मुख्य सडक स्तोरोन्नती रोक्नु नहुने भन्दै मार्कामा पर्ने परिवारको पहिचान गरि आवश्यक सामाधानको पहल गर्नु जरुरी भएको छ ।

सडक विस्तार विरुद्ध आन्दोलन घोषणा
यसैवीच सिरहाको मुख्य सडक विस्तारको अभियान विरुद्धमा आन्दोलन घोषाा भएको छ । रामजानकी मन्दिरमा शनिवार सिरहाका व्यापारी र स्थानीयको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जस अन्र्तगत जिल्ला प्रशासन कार्यालय सिरहा र सिरहा नगरपालिकामा ज्ञापन पत्र बुझाउने, सडक जाम गर्ने र बजार व्यवसाय बन्द गर्ने घोषणा गरिएको छ । सिरहाको मुख्य सडक विस्तार गर्दा व्यापार व्यवसाय चोपट हुने र आर्थिक मन्दीको बेला सिरहा बजार नै उजाड हुने जोखिम भएकोले विरोधमा उत्रिनु परेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय