सिरहा । आज माघ १९ गते, स्वर्गीय सहिद सांसद हेमनारायण यादवको १९औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सिरहा जिल्लाका चर्चित नेता सहिद हेमनारायण यादवको १९ औं स्मृति दिवसलाई लिएर रक्तदानदेखि विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमालेले स्मृति दिवसका अवसरमा कार्यक्रम गरिरहेका छन् । सिरहा सदरमुकामको हेम नारायण चौकमा रहेको उनको शालिकलाई स्मृति दिवसको निम्ति तयार गरिएको छ । रंगरोघन, सफासुग्घर गरी स्मृति दिवसमा कार्यक्रम गर्नेे तयारी गरियो ।
स्मृति दिवसलाई लिएर मधेश प्रदेशका पूर्वकानूनमन्त्री एव वर्तमान प्रदेश सभा सदस्य प्रमोद कुमार यादवले सहिद यादवको शालिकमा माल्यार्पण कार्यक्रम राखेको छ । सहिद यादवको पुत्र नेकपा एमालेका जिल्ला उपाध्यक्ष एव सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले १९ औं स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यार्पण र रक्तदान कार्यक्रम राखेको छ ।

सहिद यादव प्रतिनिधि सभाका सदस्य (साँसद) रहेका बेला नेपाली सेनावाट आज भन्दा १९ वर्ष अगाडि २०६० साल माघ १९ मा हत्या गरिएको थियो । उनलाई गागन नदीवाट अपहरण गरी नेपाली सेनाले हत्या गरी कमला नदीको पश्चिमपट्टी पोर्ताहामा शव फालेका थिए । जसको छानबिन भएपनि घटनामा संलग्न नेपाली सेनालाई कारबाही अझैं हुन सकेको छैन् ।

कसरी भयो हत्या ?
२०६० साल माघ १९ गते सोमवार आफैले बेचेका २ विगहा १५ कठ्ठा जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा सिरहा मालपोत कार्यालयबाट आफ्नो काम सिध्याएर १२ बजेपछि आफ्नो छोरी ज्वाइको नाममा दर्ता रहेको स.१ प. २८३८ को मोटरसाइकल लिएर धनगढी बजारमा नेकपा एमाले सिरहाको जिल्ला कमिटीका सचिव हीरा सुनवारको घरजाँदा महेन्द्र राजमार्गको चोहर्वाबाट पूर्व १० किलोमिटर दुरीको बिचमा गोलबजारको यूनिफाइड कमाण्ड पारगरेर गागन खोलाको १२८.४० मिटरको दुरीमा रहेको दोश्रो पुलमा पुगेपछि पुलको पूर्वीमुखमा उत्तरपट्टि रहेको फराकिलो भागमा उत्तर मुख फर्काएर राखिएको गाडीबाट दुइजनाले मोटरसाइकल रोक्न इसारा दिए र रोक्न खोज्दाखेरी धकेलेर खसाले र गाडीमा चढाएका थिए ।
ती दुई जनाले नै मोटरसाइकल लिएर पूर्व निमावी कसहा भएतिर लागेको एक प्रत्यक्षदर्शी साइकल चालकले बताएका थिए । महेन्द्र राजमार्गको २७ नम्बर कल्भर्टबाट गाडी र मोटरसाइकल उत्तरतर्फको कच्ची बाटोमा लगेका र पछि मुसहरनिया चौकदेखि करिब एककिलोमिटर टाढा रहेको ढिस्को सम्म देखेका गिट्टी मजदुरहरुले बताएका थिए । भोलिपल्ट माघ २० गते कमरेड यादवको मृत शरीर कमला नदीको पुलभन्दा पश्चिम धनुषा जिल्लाको लवटोली–५ मा फेला परेको थियो ।
घटना स्थलमा २०/३० साइजको हसिया हथौडा इनामेलद्घारा अंकित बेढंगको झण्डा र मिसाइल अध्यक्ष धनुषा सिन्धुली सम्पर्क समिति भन्ने उल्लेखित पर्चा र तिनवटा गोलीका खोखा बरामद भएको थियो । साथमा २०१/०५६ नम्बरका प्रतिनिधी सभासदस्यको परिचयपत्र पनि थियो । ११/७५३ नम्बरको २०५२/१२/३० जारी गरिएको सवारी चालक अनुमतिपत्र तथा ३९०४८९ नम्बरको नागरिकता, नेकपा एमालेको संगठित सदस्यको रसिद, भिजिटीङ्ग कार्ड, टेलिफोन रसिद भेटाएको थियो ।

शव परीक्षण
तात्कालिन सिरहा अस्पतालका मेसु डा. राजकुमार चौधरीको शव परिक्षण रिपोर्टमा टाउकोमा लागेको गोली दाहिने कानपट्टीमा पसेरे देब्रेबाट निस्केको र अर्कोगोली ढाँडमा लागेर आरबीबाउण्ड भएकोले मृत्यु भएको प्रमाणित गरेका थिए ।

गोली परीक्षण प्रतिवेदन
केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशाला महराजगंजले 9/19MS75c अंकित एक गोलि, 9/19MS85 लेखिएको अर्को गोलि र तेस्रो गोली मध्ये दुईवटा सर्ट मेसिनगनबाट फाइर भएको उल्लेख गरेका थिए ।

यादव हत्याबाट विभिन्न पार्टी र गठित छानविन समितिका प्रतिवेदनहरु
तत्कालै माओवादी नेता डा. बाबुराम भट्टराइले कान्तिपुर पत्रिकामा हत्यामा आफ्नो पार्टीको संलग्नता नरहेको दावी गरेका थिए । त्यस्तै हेमनारायण यादव हत्याकाण्ड छानबिन संसदीय समितिका संयोजक सांसद आनन्द ढुङ्गानाको प्रतिवेदनमा राजनीति इच्छा पूर्तिकोलागि हत्या भएको र संयत्रपुर्ण हत्याको जिम्मा तात्कालिन यूनिफाइड कमाण्डको मातहतमा रहेको शाही नेपाली सेनाले लिनुपर्ने निष्कर्श निकालेका थिए । सैनिक अधिकारीको संलग्नतामा हत्या भएको छ भने प्रष्ट भएको थियो ।
नेकपा (माओवादी) केन्द्रिय समितिले शाही सेनाका जल्लादहरुले गिरफ्तारगरी टाउकोमा गोली हानी हत्या भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले प्रेस वक्तव्यमा भनेका थिए । त्यस्तै एमनेस्टि इन्टरनेशनलले एउटा प्रकाशित सामाचारमा ‘थ्री पिपुल इन प्लेन क्लोथस् आरर्मड वीथ सव–मेसिनगनस्’ भनेर उल्लेख गरेका थिए । नेपाल कल्याणकारी समाज न्यूजले राज्यले पालन गर्नुपर्ने मानविय कानूनी जेनेभा माहासंघीको धारा ३ राज्यपक्षबाट समेत उलंधन भइरहेकोले राज्यपक्षबाट युद्धसम्बन्धी नियमको पालना गरिनुपर्ने लेखेका थिए ।

नेपाल मानवअधिकार संगठनले हत्यामा सिरहाका इन्द्रध्वज गंणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको प्रतिवेदन दिएका थिए । रक्षा मन्त्रालयले प्रहरी टोलीको निष्कर्षलाई नै नेपाली जंगी अड्डाले आधार बनाएको छ भने संसदीय छानविन समितिले दिएको प्रतिवेदनमा बुँदा १३ मा घटनाको मुख्य केन्द्रबिन्दुमा चोहर्वा ब्यारेकलाई राखेको थियो र उक्त हत्यामा इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्कीकै संलग्नता रहेको भनेका थिए ।
नेकपा एकाले पार्टीका तात्कालिन महासचिव माधव कुमार नेपाल सिरहाको चन्द्र माध्यमिक विद्यालयमा आयोजित सभामा हजारौ सिरहालीको जनसभामा हेरी हरेछु हत्यारा एउटा पातलो पर्दाको पछाडि उभेकाछन् । जबसम्म हत्यारालाई कठघेरामा उभाइदिन तबसम्म चयनको श्वास लिन्न भनेको पनि १९ वर्ष वितिदा गृहमन्त्री, उपप्रधानमन्त्री मात्र होइन पटकौं एमालेबाट नै प्रधानमन्त्रीभई देश र शासन चलाएपनि पूर्ण बहुमत दुई तिहाई भन्दा पनि बढी बहुमत भएको नेकपा सरकारले अपराधीलाई कठघरामा ल्याउन सकेको छैन । केवल फुलमाला चढाई चित्त बुझाई रहेकाछन् ।

परिवारिक पृष्ठभूमी
सिरहा नगरपालिका–७ महिसोथामा वि.स. २०१२ साल जेष्ठ ९ मा पुलकित भिन्दवार यादवको जेठो छोरोको रुपमा उनको जन्म भएको थियो । उनको विवाह २०३० सालमा पारोदेवी यादवसँग भएको थियो । दुई छोरा र चार छोरीहरुका बुवा बनेका थिए । ६ सन्तानहरुमध्ये परिवारका सबभन्दा जेठा डा. नविन कुमार यादव, छोरीहरु क्रमशः बबिता यादव, ममता यादव, निसा यादव, ऋषु यादव र कान्छा छोरा डा. प्रवीण कुमार यादव छन् ।

शैक्षिक पृष्ठभूमी
जीवनमा संघर्ष गर्ने बाल्यकालदेखि वाणी रहेको थियो । सिरहा नगरपालिका–५ मानपुर गाउँमा रहेको निम्न माध्यमिक विद्यालयवाट कक्षा आठ सम्मको पठनपाठन पूरा गरेका थिए । त्यसपछि देशकै दोश्रो जेठो चन्द्र माध्यमिक विद्यालय सिरहाबाट प्रवेशिका (एसएलसी) उत्तिर्ण गरेका थिए । डिबि क्लेज जयनगरवाट प्रविणता प्रमाणपत्र तह गरी जनकपुरको राराब क्यापसबाट वाणिज्य संकायमा स्नातक गरेका थिए ।

राजनीतिक यात्रा
२०३६ सालको जनमत संग्रहको घोषणासँगै विद्यार्थी आन्दोलनबाट राजनीतिक गतिविधिमा उनको सक्रियता रहेको थियो । २०४० सालमा पञ्चायती व्यवस्थाको जनवर्गिय संगठन नेपाल किसान संघ सिरहाका जिल्ला सभापतिमा निर्वाचित भएका थिए । रामराजा प्रसाद सिंहको जनवादी मोर्चामा लागेर २०४० सालमा काठमाडौं र सिरहामा भएका बम विष्फोटन काण्डमा मुछिएर छानबिनका लागि २०४२ सालमा एक महिना १७ दिनसम्म थुनामा बसेका थिए । २०४४ सालमा सिरहा गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएकोे र २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय व्यवस्थको पुर्नबहाली भएपछि उनी गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सदभावना पार्टीमा लागेर सिरहा जिल्लाको अध्यक्ष बनेका थिए ।
२०४८ र २०५१ सालको आम निर्वाचनमा नेपाल सदभावना पार्टीबाट टिकट पाएर सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट क्रमशः ३ हजार ८ सय ७२ र ८ हजार ८ सय १० मत प्राप्त गरेका थिए । तत्पश्चात् २०५२ साल जेष्ठ ४ मा नेकपा एमालेमा प्रवेश गरी कम्यूनिष्ट राजनीतिको शुरुवात गरेका थिए । छोटो अबधिमा नै नेकपा एमालेको साधारण सदस्यताबाट संगठित सदस्यता प्राप्त गरी जिल्ला कमिटीको सदस्य बनेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदमा उम्मेदवार भई पराजित भएका थिए ।
२०५४ सालमै माघ १२ देखि १८ मा नेपालगंजमा आयोजित छैठो महाधिवेशन सम्पन्न भएपछि २०५४ साल फाल्गुन २१ मा नेकपा एमालेको संसदीय दल विभाजन भएर नेकपा माले निर्माण भएपछि उनी पार्टीको मुलधारमा नै रहेका थिए । २०५६ सालको आम निर्वाचनमा नेकपा एमालेले सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । १९ हजार २ सय ३५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!