सप्तरी। ‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराका साथ सप्तरीबाट मिथिला संस्कृति र भाषा उत्थानको लागि एक बोलबम साइकल यात्री ऐतिहासिक बैजनाथ बाबाधाम प्रस्थान गर्नु भएको छ।

मिलाफ नेपाल, राजविराजको अध्यक्ष रमिला साहको अध्यक्षतामा ‘मिथिला बोल बम अभियान’ भारतको झार खण्डमा पर्ने बाबाधाम देवघर साइकल यात्रा २०७९ को आयोजना गरी प्रस्थान गर्नु भएको हो।

मङ्गलवार मैथिली भाषा, साहित्य, कला–संस्कृतिको व्यापक प्रचार/प्रसार र जन–जागरणको उद्देश्यले सप्तरीदेखि भारत, देवघरको लागि ‘देवघर साइकल यात्रा २०७९’  बिदाइ गरिएको हो ।  छिन्नमस्ता गाउँपालिका वडा नं. १ विरपुर स्थित भोला बाबाको मन्दिर दर्शन र आशीर्वाद लिई राजविराजको राजेश्वरी राजदेवी मन्दिर पुगेका २७ जना यात्रीहरूलाई मिलाफ संस्थापक अध्यक्ष तथा मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्र,द क्रान्ति केन्द्रका पत्रकार बाबुल मिश्र, मिलाफ सचिव र आइ लभ मिथिला तथा मधेश एक्सप्रेस डट कमका सम्पादक विद्यानन्द बेदर्दी, रेडियो नेपालका सम्वाददाता दीनानाथ यादव, मैसाप पूर्व अध्यक्ष तथा सूर्यांश पत्रिकाका शुभचन्द्र झा, सञ्चार यात्रा तथा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करुणा झा, मैथिल महिला परिषद्का प्रतिमा देव र पिंकी झा, मिलाफ संस्थापक सदस्य शम्भु श्री, म्युजिक मैथिलीका मैथिल म्याक्स लगायतकाले यात्रीहरूलाई बिदाइ तथा शुभकामना दिनु भएको थियो । बिदाइ कार्यक्रममा मिलाफ संस्थापक सदस्य तथा गायिका कंचना झाले भजन गाएर हौसला थप्नुभएको थियो ।

प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरीसम्मको दर्शन गरे पश्चात् वैद्यनाथ बाबाधामको लागि यात्रीहरू देवघर प्रस्थान गरेका छन्। ३५० किलोमिटर दूरी रहेको देवघर यात्राको लागि १० दिनको समय तय गरिएको छ।

काठमाडौँ न्यूरोड स्थित लक्की ज्वेलर्सद्वारा प्रायोजित यस यात्राका यात्रीहरूलाई छिन्नमस्ता गाउँपालिकाको कार्यालय भवनमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू वडा अध्यक्ष द्वय ललन प्रसाद यादव, सिकिन्दर साह, विजय यादव, कपलेश्वर साह, अच्छेलाल यादवले खादा माला सहित स्वागत सत्कार गरि बिदाइ गर्नु भयो।

यात्रुहरूलाई आवश्यक सामाग्रीहरू गाउँपालिकाको सहयोगमा हस्तान्तरण गरिको छ भने मधेश प्रदेश सरकारका अर्थ मन्त्री  शैलेन्द्र प्रसाद साहले  १६ हजार  सहयोग पठाउनुभएको छ । छिन्नमस्ता गाउँपालिकाकी उप–प्रमुख राजो देवी यादवले यात्रुहरूलाई  शुभकामना व्यक्त गर्दै छिन्नमस्ता गाउँपालिकाको मैथिली अभियानी र मिलाफ नेपालले यो ऐतिहासिक आयोजन गर्न लागेकोमा छिन्नमस्ता गाउँपालिकाको गौरव बढाएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष मिथिला बोलबम अभियान, देवघर साइकल यात्रामा र साथै मिथिला संस्कृति र भाषा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान हुने बताउनु भयो।

बोलबम अन्तर्राष्ट्रिय यात्रामा १५ वर्ष देखि ७० वर्षसम्मका बोलबम साइकल यात्री सहभागी हुनुभएको छ ।  यस अघि पहिलो पटक २०७६ मा सप्तरीबाट बोलबम साइकल यात्री बाबाधाम देवघर यात्रा गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!