सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले मिटर ब्याजी जस्ता गैरकानूनी कार्य रोक्न सजग र सचेत हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले मिटर ब्याजको कारोबार सम्बन्धमा जारी गरेको सूचनामा यस्तो बताईएको छ । चर्को मिटर ब्याजमा रकम लेनदेन हुने गरेको भन्दै प्रजिअ कवारीले यसले सोझासाझा जनताहरु बाध्यमक रुपमा त्यस्तो प्रणालीमा फस्ने गरेको र आफ्नो घरखेत सर्वस्व नै गुमाउनु परेको अवस्था भएको जनाएका छन् ।
स्पष्ट कानूनी अभावमा मिटर ब्याजीलाई कारबाही प्रकृया ल्याउन समस्या भएको भएको भन्दै प्रजिअ कवारीले प्रचलित कानून बमोजिम कारबाही थालिएको बताए । तीन दोब्बरको कागज (तमसुक) बनाउने, जग्गा नै पास गर्ने, पछि सोझासाझा जनताको मञ्जुरीको फाईदा उठाउँदै जग्गा फिर्ता नगर्ने तथा अदालतबाट कपाली तमसुक बराबरको मुद्दा दायर गरी सम्पति लिलाम गराई जनतालाई उठीवास बनाएको घटनाहरु देखिएको भन्दै प्रजिअ कवारीले वास्तविक लेनदेन भएको कपाली तमसुकलाई सम्बन्धित वडा र पालिकाबाट प्रमाणिकरण गर्ने काूननी व्यवस्था रहेको जनाएका छन् ।

पालिकाले कपाली तमसुक र पैसाको लेनदेन सम्बन्धी कागजात प्रमाणिकरण गर्दा छानबीन गरी मात्र प्रमाणिकरण गर्ने कार्यको सुरुवात गर्न प्रजिअ कवारीले अनुरोध गरेका छन् । उनले मिटर ब्याज जस्ता गैरकानूनी तथा सर्वसाधारणको जीवनसँगँ प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा सवै तह र तप्काका व्यक्ति, संस्थाहरुले समेत सचेत हुन आग्रह गरेका छन् ।
पछिल्लो समय सिरहा जिल्लामा मिटर ब्याजीलाई उजुरीको आधारमा प्रकाउ गरिएपनि प्रयाप्त प्रमाणको अभावमा प्रहरीले छाड्ने गरेको छ । कपाली तमसुक लुकाएर राख्ने र जग्गा पहिले नै पास गरेपछि विभिन्न जालझेल मिटरब्याजीले रच्ने गरेको जानकारहरु बताउँछन् । जिल्ला प्रशासनले नागरिक र सवै तप्काका व्यक्तिसँग गरेको आग्रह सराहनिय रहेकोले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । यसमा सिरहा जिल्लाका १७ वटै स्थानीय तहका जनप्रतिनिधिहरु जाग्नुपर्ने र मिटर ब्याजको चंगुलबाट समाजलाई जोगाउनु पर्ने जानकारहरु बताउँछन् ।




