उपेन्द्र यादव पक्षले भट्टराईसहित विस्तारित बैठकमा सहभागी नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ । वीरगन्जमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा कारबाहीको एजेन्डामाथि छलफल हुने भएको छ । 

जसपा प्रवक्ता प्रकाश अधिकारीका अनुसार भट्टराईसहितका नेताले विधानविपरीत काम गर्दै आएकोबारे बुधबार सामान्य छलफल भएको छ । बिहीबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुने र निर्णयमा पुग्ने उनले बताए । पार्टी विधानविपरीत जानेलाई बहुमतको निर्णयका आधारमा कारबाही हुने उनको भनाइ छ । उनले भने, ‘बहुमतको दम्भ देखाउने अध्यक्ष डा. भट्टराईको गुटको भेला अवैधानिक छ । बैठकले निर्णय गरेर कारबाही गर्नेछ ।’

पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात–अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने र संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा छलफल सुरु भएको नेता मनीष सुमनले जानकारी दिए । उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अध्यावधिक गर्ने विषयमा छलफल सुरु भइसकेको छ । वीरगन्जमा जारी बैठकमा करिब तीन सय सदस्य सहभागी रहेको अधिकारीले दाबी गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बखेडा मात्रै झिकेको आरोप लगाएका छन् । वीरगन्जमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा यादवले नेतैपिच्छे भट्टराईले फरक–फरक कुरा गर्ने गरेको आरोप लगाए । उनले भने, ‘डा. भट्टराई फरक–फरक नेताको भेटमा फरक–फरक कुरा बोल्ने र पार्टीको बैठकमा नआउने, हस्ताक्षर गराएर बखेडा मात्र गराउने काममा लागे । डा. भट्टराई कस्ता डाक्टर भएका छन्, आजभोलि बुझ्न सकिएको छैन । पछिल्लो समय उनको मानसिकता गडबड भएको जस्तो लाग्न थालेको छ ।’

भट्टराई गुटको नेता बन्न खोजेको यादवले कटाक्ष गरे । डा. भट्टराईलाई माओवादीकालदेखि नै अध्यक्षको विरुद्धमा हस्ताक्षर गराएर हिँड्ने बानी परेको र अहिले पनि उक्त बानी यथावत् रहेको यादवले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय