सिरहा । चालू आर्थिक वर्ष २०७८/०७९ सकिन केही दिन मात्र बाँकी रहेको छ । सिरहा जिल्लाका केही कार्यालयहरु पूँजिगत खर्च अत्यन्तै न्यून खर्च गरेको छ भने कतिपय कार्यालयल खर्च गरेको विवरण नै छैन् ।
यसैमध्येका एक हो, लहानमा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय मातहतको यो कार्यालयलाई चार वटा जिल्लाको जिम्मेवारी दिईएको छ । कार्यक्षेत्रका रुपमा सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाको जिम्मेवारी पाएको कार्यालयले चालू आर्थिक वर्ष सकिनै लाग्दा पूँजिगत खर्च नै शून्य गरेको विवरण प्राप्त भएको छ ।

उक्त कार्यालयले नदी, खोलाबाट हुने कटान अर्थात भू–क्षय न्यूनीकरण गर्ने, उर्वरा भूमिलाई कायम गरी उत्पादकत्वमा वृद्धि गर्ने, पूरानो पोखरी÷ईनार मर्मत गर्ने, खानेपानीको सुख्दै गएको मूलको संरक्षण गर्ने, जलवायुको असरवाट जोगाउन किसानलाई प्लास्टिक पोखरी, फलफूको विरुपा सहयोग गर्ने जस्ता कार्यक्रम गर्दै आएपनि चालू आर्थिक वर्षको कामको विवरण कार्यालयले उपलब्ध गराउन सकेको छैन् । सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाको कुन स्थानमा के काम भईरहेको छ त्यसको विवरण नै कार्यालयले उपलब्ध गराउन ससेको छैन् ।
चालू आर्थिक वर्षको निम्ति प्रदेश सरकारले उक्त कार्यालयलाई चालूतर्फ १ करोड ६९ लाख २१ हजार रुपैयाँ पठाएको छ । यस्तै पूँजिगत तर्फ २० करोड ६७ लाख रुपैयाँ पठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका प्रमुख ध्यान कुमार राई अनुसार उक्त कार्यालयले चालूतर्फ रकम खर्चिएपनि पूँजिगततर्फ शून्य खर्च भएको बताएका छन् । प्रमुख राईले आर्थिक वर्ष सकिन लाग्दा पूँजिगत खर्च नहुनु दुःखद भएको भन्दै यसमा कार्यालयको दोष रहेको बताएका छन् ।

यता भू तथा जलाधार व्यवस्थापन कार्यालय लहानका प्रमुख प्रविण कुमार सिंहले बजेटको अख्तियारी ढिलोगरी आएकोले खर्च गर्न कठिन भएको बताएका छन् । ‘बजेटको अख्तियारी ढिलागरी आयो,’ प्रमुख सिंहले भने,‘अर्कोतिर स्थानीय चुनाव आईदियो । जसले गर्दा पूँजिगततर्फको पूरा रकम खर्च गर्न सकिएन् ।’
चारवटै जिल्लामा केही योजना कार्यान्वयन चरणमा रहेको भन्दै प्रमुख सिंहले योजना सम्पन्न भएपछि रकम भुक्तानीको प्रकृया अगाडी बढ्ने बताएका छन् । ‘अहिले योजना र कार्यक्रम सम्पन्न भएको छैन,’ उनले भने,‘त्यसैले खर्च देखिएको छैन् । पूरा रकम खर्च गर्न नसकिएपनि केही रकम असार अन्तिम सम्म खर्च हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय