काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ७ स्थित बिजुलीको हाइटेन्सन प्रशारण लाइनको तारतारै मान्छे हिँडेपछि स्थानीय प्रशासनले हैरानी पाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका एक व्यक्ति टावर चढेर तारमा झुन्डिएर हिँडिरहेकाले समस्या भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।

‘फकाएर ओर्ल भन्दा पनि मान्दैन, तारतारै हिँडिरहेको छ’, तामाङले भने, ‘खसेर मर्ला भन्ने डर भयो, अर्को मान्छे गएर निकाल्न पनि गाह्रो छ, अब हेलिकप्टरबाटै गएर झिक्नुपर्ला जस्तो छ ।’
उनका अनुसार ती व्यक्ति नुवाकोट बेलकोटगढी नगरपालिका ९ का हुन् । उनी टावर चढिरहेको देखिएपछि स्थानीयले विद्युत प्राधिकरणमा खबर गरिएपछि लाइन काटिएको तामाङले बताए ।
‘टावरको बीचतिर पुगेपछि हल्लाखल्ला भएछ, स्थानीयले फोन गरेपछि विद्युत प्राधिकरणले लाइन काटिदिएको छ, तामाङले भने, राष्ट्रिय प्रशारण लाइन अवरुद्ध गर्नुपरेको छ ।’
प्रहरी र स्थानीयले तलबाट फकाएर ओर्लन भनिरहे पनि उसले नमानेको अध्यक्ष तामाङले बताए ।



