सिरहा । सिरहा नगरपालिकाको कार्यपालिका बैठकबाट विभिन्न समिति गठन गरेको छ । सिरहा नगरपालिकाको सभाहलमा आईतवार बसेको कार्यपालिकाको दोस्रो वैठकले स्थानीय तह सञ्चालन ऐन, २०७४ अन्तर्गत आवश्यक रहेका दुई वटा समिति सर्वसम्मत रुपमा गठन गरिएको हो ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको अध्यक्षतामा बसेको कार्यपालिकाको दोस्रो बैठकले स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ । उपमेयर बबिता कुमारी साह संयोजक रहेको राजश्व परामर्श समितिको सदस्यमा कार्यपालिकाले इन्दीरा देवी कर्ण र राम सोभित यादवलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

यस्तै श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति समेत गठन गरिएको छ । मेयर डा नविन कुमार यादव संयोजक रहेको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको सदस्यहरुमा उपमेयर बबिता कुमारी साह, कार्यपालिका सदस्यहरु तारा देवी सदा, अनिल कर्ण, सचेन्द्र कुमार साह र योगेन्द्र हजरा यादव सर्वसम्मत रुपमा चयन भएको छ ।
समितिको अर्को बैठक जेठ २४ गते मंगलवार बस्ने र विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णयमा पुग्ने प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएका छन् ।



