सिरहा । सिरहा नगरपालिकाका नवनिर्वाचित मेयर डा नविन कुमार यादवले पदभार ग्रहण गर्दै चार बुँदे निर्णय गरेको छ । सिरहा नगरपालिका क्षेत्रका कक्षा १ देखि ३ कक्षासम्मका सामुदायिक विद्यालयको पठनपाठन अँग्रेजी माध्यमवाट गर्ने निर्णय गरेको छ ।
सिरहा नगरपालिका परिसरमा आयोजित भव्य पदभार ग्रहण कार्यक्रमपछि आफ्नो कार्यकक्ष पुगेर उनले चार बुँदे निर्णय गरेको हो ।
नगरक्षेत्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदै गएको अवस्थामा उनले गरेको यो निर्णय महत्वपूर्ण मानिएको छ । अँग्रेजी माध्यममा सामुदायिक विद्यालय सञ्चालन गर्न आवश्यक पर्ने सामग्री, पूर्वाधार र जनशक्तिप्रति ध्यान दिनुपर्छ । सिरहा नगरक्षेत्रको निम्ति महत्वपूर्ण निर्णय रहेकोले यस निर्णयलाई कार्यान्वयन गर्नुपर्ने चुनौती पनि रहेको छ ।

यस्तै उनले अर्को निर्णय आफ्न्तको मृत्यु हुँदा काजक्रिया गर्न नसक्ने गरिब, असाहाय एवंम आर्थिक रुपले कमजोर परिवारलाई किरिया खर्च १० हजार उपलब्ध गराउने निर्णय गरेका छन् । यसले विपन्न गरिब परिवारलाई सहयोग मिल्ने डा यादवको बुझाई रहेको छ ।
त्यससँगै आर्थिक अवस्था कमजोर भएका गरिब जेहन्दार दलित विद्यार्थीहरुलाई किताव कापी, कलम, विद्यालयको पोशाक निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । मेयर डा यादवले गरेको अर्को महत्वपूर्ण निर्णय आर्थिक अवस्था कमजोर रहेका गरिब असाहय दलित परिवारका छोरीको विवाहको लागि विवाह सामग्री खरिद गर्न १० हजार रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ ।
अब सिरहा नगरपालिकामा विधि, कानून, नागरिकको आवश्यकता र पादर्षिताका साथ कामकाज हुने डा यादवको भनाई रहेको छ । भव्य रुपमा आयोजना गरिएको पदभार ग्रहण कार्यक्रममा उनले नागरिकसँग सहयोग माग्दै आफूले विकासको गतिमा नगरवासीलाई अगाडी लैजाने प्रतिबद्धता जनाएका छन् ।

पदवहाली कार्यक्रममा उपमेयर वविता कुमारी साहले न्याययिक समिति, योजनाहरुको अनुगमन, आवश्यकता अनुसारको आफ्नो सशक्त भूमिका रह्ने र नगरवासीलाई सेवा सुविधा पुर्याउनमा कुनै कमजोरी नरह्ने बताएकी छिन् ।
सभामा पूर्वमन्त्री एवम नेकपा एमाले मधेश प्रदेश सहइन्चार्ज लीलानाथ श्रेष्ठ, पूर्व संविधानसभा सदस्य आशा यादव, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी सहित प्रशासनिक क्षेत्रका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, २२ वटै वडाका निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतका सहभागिता रहेको थियो ।
डा यादवलाई पूर्वमन्त्री श्रेष्ठले मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेपछि माला ल्याएर स्वागत गरेका थिए भने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पदभार ग्रहण गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय