सिरहा । सिरहामा जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेर फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अर्नामा गाउँपालिका–२ ब्रम्हपुरीका २३ वर्षीय धिरजकुमार महतो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय अर्नामा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार साँझ ५ः२० बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महतो जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेर फरार भएका थिए । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।




