सिरहा । भारतको बिहार प्रहरीले धनुषाको विदेह नगरपालिका–दुहबीकी हिरादेवी महासेठ उर्फ ‘चाची’लाई पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय प्रहरीले उनलाई जाली भारतीय मुद्रा, लागूऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करीसँग सम्बन्धित विभिन्न घटनामा लामो समयदेखि फरार अभियुक्त रहेको जनाएको छ ।
जिल्ला प्रहरी मुख्यालय मधुबनी, बिहारले सार्वजनिक गरेको विवरण अनुसार ६७ वर्षीया महासेठलाई भारतको मधुबनीस्थित बासोपट्टी क्षेत्रबाट सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीको संयुक्त टोलीले मंगलबार राति पक्राउ गरेको हो ।
मधुबनीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमारका अनुसार ४८औँ वाहिनी एसएसबी जयनगरको समन्वयमा जानकीनगर र बिहार प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा राति करिब १२ः३० बजे उनलाई पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर २७७/४६ बाट करिब १० मिटरभित्र भारतीय क्षेत्रमा पर्ने दुबही बजार नजिकबाट महासेठलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ कारबाहीमा ४८औँ वाहिनी एसएसबीका सहायक कमान्डेन्ट पारस राठी र बासोपट्टी प्रहरी थानाका प्रमुख प्रहरी उपनिरीक्षक कार्तिक भगत नेतृत्वको टोली परिचालन भएको थियो ।
भारतीय प्रहरीले महासेठलाई ‘आदतन अपराधी’ तथा लामो समयदेखि फरार अभियुक्तका रूपमा उल्लेख गरेको छ । उनीविरुद्ध तस्करीसँग सम्बन्धित विभिन्न प्राथमिकी (एफआईआर) दर्ता रहेको प्रहरीको भनाइ छ ।
परिवारका सदस्यविरुद्ध सातभन्दा बढी एफआईआर
भारतीय प्रहरीका अनुसार महासेठ परिवारका सदस्यविरुद्ध बिहारका विभिन्न प्रहरी कार्यालयमा सातभन्दा बढी एफआईआर दर्ता भएको पाइएको छ । तीमध्ये हिरादेवी महासेठ, उनका श्रीमान् भरत महासेठ र छोरा राजीव महासेठसमेत विभिन्न मुद्दामा प्रतिवादी रहेको भारतीय प्रहरीको भनाइ छ ।
स्टेट क्राइम रेकर्डस् ब्यूरो, बिहारमा रहेको विवरण उद्धृत गर्दै एक प्रहरी अधिकृतले महासेठ परिवारविरुद्ध लागूऔषध तथा प्रतिबन्धित सामग्रीको तस्करी, जाली भारतीय मुद्रा (एफआईसीएन) अर्थात् नक्कली भारु नोटको कारोबार तथा अन्य गैरकानुनी वस्तुको ओसारपसारसम्बन्धी मुद्दा रहेको बताएका छन् ।
ब्यूरोको अभिलेखअनुसार बासोपट्टी प्रहरी थानामा सन् २०२३ मा दुईवटा र सन् २०२५ मा एउटा एफआईआर दर्ता भएको पाइएको छ । यस्तै, सोही प्रहरी थानामा सन् २०२६ मा थप दुईवटा एफआईआर दर्ता भएको विवरण रहेको जनाइएको छ ।
त्यसैगरी, बिहारको सीतामढी जिल्लास्थित भिठ्ठा प्रहरी थानामा एउटा र मधुबनी जिल्लाको मधवापुर प्रहरी थानामा सन् २०२६ मा एउटा एफआईआर दर्ता भएको पाइएको छ । यसअनुसार दुई जिल्लाका तीन प्रहरी थानामा सन् २०२६ मा मात्रै चारवटा एफआईआर दर्ता भएको देखिन्छ ।
ती मुद्दामा हिरादेवी महासेठ, उनका श्रीमान् भरत महासेठ र छोरा राजीव महासेठसमेतलाई प्रतिवादी बनाइएको भारतीय प्रहरीको भनाइ छ ।
चौरचन मनाउन घर आएको सूचनापछि पक्राउ
भारतीय प्रहरीका अनुसार महासेठलाई लामो समयदेखि निगरानीमा राखिएको थियो । नेपालका विभिन्न स्थानमा बस्दै आएकी उनी चौरचन अर्थात् चौठीचन्द पर्व मनाउन घर आएको सूचनाका आधारमा भारतीय क्षेत्रमा पुगेको समयमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
एसपी योगेन्द्रकुमारले महासेठविरुद्ध चारवटा एफआईआर रहेको बताएका छन् । तर, बिहार स्टेट क्राइम रेकर्डस् ब्यूरोको अभिलेखका आधारमा विभिन्न प्रहरी थानामा उनी र उनका परिवारका सदस्यविरुद्ध सातभन्दा बढी एफआईआर रहेको विवरण सार्वजनिक भएको छ ।
महासेठ पक्राउ परेपछि उनको आपराधिक पृष्ठभूमि तथा सीमापार तस्करीसँगको सम्भावित सम्बन्धबारे विभिन्न सुरक्षा तथा अनुसन्धान निकायले समेत सोधपुछ गरेको भारतीय प्रहरीको भनाइ छ ।
सीमापार तस्करीको नेटवर्कबारे अनुसन्धान
भारतीय अनुसन्धान अधिकारीका अनुसार महासेठ परिवारसँग सम्बन्धित मुद्दा सन् २०२६ मा थप देखिएका छन् । एक अनुसन्धान अधिकारीले हिरादेवी महासेठले सन् २०२४ र २०२५ मा जाली भारतीय नोट तथा अन्य प्रतिबन्धित सामग्रीको तस्करी गरेको अनुसन्धानबाट देखिएको दाबी गरेका छन् ।
उनका अनुसार सो अवधिमा नेपाल र भारतका सुरक्षा निकायका केही व्यक्तिसँग मिलेमतो गरी सीमापार तस्करी सञ्चालन गरिएको हुन सक्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । सुरक्षा निकाय र अवैध कारोबारमा संलग्न व्यक्तिहरूबीचको सम्भावित सम्बन्ध तथा सीमा क्षेत्रमा सक्रिय तस्करी सञ्जालबारे गहन अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ ।
यद्यपि, सुरक्षा निकायका व्यक्तिको संलग्नता वा मिलेमतोसम्बन्धी दाबी अनुसन्धानकै क्रममा रहेको र त्यसबारे थप आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।
श्रीमान् पनि नक्कली नोटसहित पक्राउ
यसअघि करिब एक महिनाअघि हिरादेवी महासेठका श्रीमान् भरत महासेठ जाली भारतीय नोटसहित पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । उनीसँगै शिवकुमार राउतसमेत पक्राउ परेका थिए ।
भारतीय प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० दरका १०० वटा नक्कली भारतीय नोट बरामद भएका थिए, जसको कुल मूल्य ५० हजार भारतीय रुपैयाँ हुन्छ ।
उक्त घटनासहित महासेठ परिवारसँग सम्बन्धित विभिन्न जाली नोट, लागूऔषध तथा प्रतिबन्धित वस्तुको तस्करीसम्बन्धी घटनालाई जोडेर भारतीय सुरक्षा तथा अनुसन्धान निकायले अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




