सिरहा । सिरहामा १०५ किलो गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्सका चालक भने फरार भएका छन् ।
चोहर्वाबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा जस्तो देखिने पदार्थ बोकेर सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले एम्बुलेन्सलाई पछ्याएको थियो ।
प्रहरीका अनुसार मंगलबार राति करिब ८ बजे सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालकले एम्बुलेन्स छाडेर फरार भएका थिए । प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा रहेका पाँचवटा जुटका बोराभित्र गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो ।
बरामद पदार्थ तौल गर्दा १०५ किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । एम्बुलेन्ससहित बरामद पदार्थ जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता नरेश लिम्बुका अनुसार फरार रहेका चालकको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको छ । बरामद पदार्थको प्रकृति यकिन गर्नेसहित घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय