काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले शुक्रबार ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सुरुङबाट बाहिर निकालेको हो ।
उद्धार गरिएका साह सप्तरीको कोइलाडी–८ का हुन् भने महर्जन काठमाडौंको बालकुमारी–३ का हुन् । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
उद्धारपछि दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरूलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
उद्धार टोलीले सुरुङभित्रबाट आवाज सुनिएपछि खोजीलाई तीव्रता दिएको थियो । त्यसअघि सुरुङभित्र रहेका व्यक्तिहरू र उद्धार टोलीबीच दोहोरो संवादसमेत भएको थियो ।
बाहिर निकालिएपछि साहले सुरुङभित्र फसेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको बताएका छन् । उनको भनाइपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको पनि जीवितै उद्धार हुने आशा बढेको छ ।
सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा प्राविधिक टोली सुरुङभित्र प्रवेश गरी थप व्यक्तिको खोजीमा परिचालित छन् ।
भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना प्रभावित भएको थियो । बाढीपछि आयोजनाको सुरुङमा केही कर्मचारी तथा कामदार फसेका थिए । दशौँ दिनमा दुई जनाको जीवितै उद्धार भएपछि बाँकी व्यक्तिको उद्धारका लागि समेत थप आशा जागेको छ ।




