लहान । नेकपा एमालेका नेताहरू सार्वजनिक पदमा पुगेपछि जनहित र जनअपेक्षाभन्दा व्यक्तिगत स्वार्थ र लाभमा केन्द्रित हुने गरेको भन्दै लहानका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।
प्रेस चौतारी नेपाल, सिरहा जिल्ला अध्यक्ष शिवकुमार साहद्वारा सञ्चालित ग्लोब सञ्चारको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिएको सामग्रीमा स्थानीयवासीको गुनासोलाई उद्धृत गर्दै नेताहरूको कार्यशैलीप्रति प्रश्न उठाइएको हो ।
सार्वजनिक पद जनसेवा र जनताको समस्या समाधानका लागि प्रयोग हुनुपर्ने भए पनि कतिपय एमाले नेताहरू पदमा पुगेपछि व्यक्तिगत लाभ र स्वार्थमा केन्द्रित हुने गरेको आरोप सामग्रीमा उल्लेख छ । यसले जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वाससमेत कमजोर बनाएको स्थानीयवासीको भनाइ छ ।
साहले सिरहा जिल्लामा २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले १७ पालिकामध्ये ९ पालिकामा प्रमुख पद जितेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरूको कार्यशैलीप्रति समेत प्रश्न उठाएका छन् । उनका अनुसार जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा त्यसको प्रत्यक्ष राजनीतिक असर निर्वाचन परिणाममा देखिएको हो ।
साहले यही प्रवृत्तिका कारण २०८२ मा भएको निर्वाचनमा सिरहामा नेकपा एमाले ‘निल’ भएको दाबी गरेका छन् । जनताले पटक–पटक अवसर दिए पनि त्यसअनुसार जनमुखी काम हुन नसक्दा मतदाताले निर्वाचनमार्फत जवाफ दिएको उनको भनाइ छ ।
स्थानीयवासीले सार्वजनिक पदलाई व्यक्तिगत लाभ आर्जन गर्ने माध्यम नभई जनसेवा, विकास र सुशासनको माध्यम बनाउनुपर्ने बताएका छन् । उनीहरूले राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही, पारदर्शी र परिणाममुखी भएर काम गर्न आग्रह गरेका छन् ।
ग्लोब सञ्चारको फेसबुक सामग्रीमा उल्लेखित गुनासो तथा आरोप कुन–कुन व्यक्ति वा पदाधिकारीप्रति लक्षित हो भन्ने स्पष्ट विवरण भने खुलाइएको छैन । त्यस्तै, साहले गरेको दाबीबारे सम्बन्धित पक्षको धारणा वा प्रतिक्रिया पनि सामग्रीमा समेटिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय