सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको तथा नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको करिब ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका सामान र तीन वटा मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बिहीबार दिउँसो करिब १ बजे सिरहा नगरपालिका–१६ खिरौनास्थित क्षेत्रमा खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमा किराना सामग्री, विभिन्न प्रकारका कपडा, तीन वटा मोटरसाइकल तथा कस्तुरी ब्रान्डको मदिरा रहेका छन् । बरामद गरिएका सबै सामानको अनुमानित मूल्य ९ लाख २६ हजार ८५० रुपैयाँ रहेको गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
बरामद गरिएका सामान आवश्यक कानुनी कारबाही तथा राजस्व असुलीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतसँग खुला सीमा जोडिएको सिरहा क्षेत्रमा पछिल्लो समय भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई तीव्र बनाएको जनाएको छ । साथै, अवैध आयात–निर्यात तथा राजस्व छल्ने गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ ।




