सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाले समाचार संकलनका क्रममा न्यूज २४ टेलिभिजनका सिरहा संवाददाता दिलीप सहनीमाथि भएको भनिएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।
महासंघका अनुसार असार १३ गते इलाका प्रहरी कार्यालय गोलबजार क्षेत्रमा चर्चित ‘मार्भल’ ब्रान्डको नाममा बिक्री–वितरण भइरहेको भनिएको नक्कली बोरवेल पाइपसम्बन्धी समाचार संकलनका क्रममा पत्रकार सहनीमाथि दुव्र्यवहार भएको थियो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार भिडियो रिपोर्टिङका क्रममा आफूलाई सम्बन्धित कम्पनीको प्रशासन प्रमुख बताउने दीपक नामका व्यक्तिले पत्रकार सहनीलाई “समाचार अहिले नपठाउनुहोस्, म भनेपछि मात्र पठाउनुहोस्” भन्दै समाचार सम्प्रेषणमा हस्तक्षेप गर्न खोजेको आरोप लगाइएको छ ।
त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत सादा पोशाकका प्रहरी कर्मचारी तथा एक प्रहरी नायब निरीक्षक (सई) ले पत्रकार सहनीलाई धकेल्ने, प्रयोगमा रहेको मोटरसाइकल र मोबाइल फोन खोस्ने प्रयास गर्ने तथा “समाचार संकलन गर्न लिखित अनुमति छ कि छैन ?” भन्दै समाचार संकलनमा अवरोध र अभद्र व्यवहार गरेको आरोप पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले घटनासँग सम्बन्धित भिडियो प्रमाणसमेत आफूहरूसमक्ष प्राप्त भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकको सम्मान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । सार्वजनिक सरोकारका विषयमा समाचार संकलन तथा सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक तथा पेशागत अधिकार भएको उल्लेख गर्दै समाचार संकलनका क्रममा अवरोध सिर्जना गर्ने, डर–त्रास देखाउने वा दुव्र्यवहार गर्नु संविधान, प्रचलित कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य भएको महासंघको ठहर छ ।
महासंघका अध्यक्ष मनोज बनैता यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । साथै भविष्यमा पत्रकारहरूले निर्भीक र सुरक्षित वातावरणमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको छ ।
प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले पत्रकारमाथि हुने कुनै पनि प्रकारका अवरोध, दबाब वा दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने भन्दै महासंघले सञ्चारकर्मीको पेशागत सुरक्षा र सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।




