सिरहा । सिरहामा करिब ४० लाख रुपैयाँ बराबरका अवैध सामानसहित एक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी गतिविधिबीच गरिएको यो बरामदगीलाई सुरक्षा निकायले महत्वपूर्ण सफलता मानेको छ भने स्थानीय सरोकारवालाहरूले यसलाई गहिरिँदै गएको अवैध कारोबारी सञ्जालको संकेतका रूपमा व्याख्या गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे नवराजपुर गाउँपालिका–५ देवनगर क्षेत्रमा विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा स.१ ख. ५३५ नम्बरको टाटा टुटन (ट्रक) नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले उक्त ट्रक नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको अवस्थामा फेला परेको जनाएको छ । ट्रकबाट विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान बरामद गरिएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा सिरहाका डीएसपी सियाराम चौधरीका अनुसार बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडर पठाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
यसअघि पनि वैशाख २० गते औरही गाउँपालिका–४ कमलपुर (दक्षिणवाइटोल) निवासी भोगिलाल यादवको घरमा विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा करिब ५ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार ती सामग्री भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको देखिएको सुरक्षा स्रोतले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरू तथा सम्भावित तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
स्थानीय स्रोत र सरोकारवालाहरूका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करी नयाँ विषय होइन, बरु “खुला रहस्य” कै रूपमा स्थापित भइसकेको छ । केही सुरक्षाकर्मी र भन्सार कर्मचारीबीच हुने कथित मिलेमतोका कारण अवैध सामानको ओसारपसार सहज हुने गरेको आरोप पटक–पटक उठ्दै आएको छ ।
स्थानीयवासीहरू भन्छन्, “एकातिर कडाइको दाबी गरिन्छ, अर्कोतर्फ सीमामा खुल्लमखुल्ला सामान आवतजावत भइरहेको देखिन्छ ।”
स्रोतहरूका अनुसार सीमावर्ती अवैध व्यापार एकतर्फी मात्र नभई द्विदिशात्मक रूपमा सञ्चालन हुँदै आएको छ । नेपालबाट भारततर्फ रक्सी, गाँजा तथा चिनियाँ स्याउजस्ता सामग्री जाने गरेको बताइन्छ भने भारतबाट मोटर पाट्र्स, इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा, खाद्यान्न तथा रजनीगन्धा, राजनिवासजस्ता सुर्तीजन्य पदार्थ नेपाल भित्रिने गरेको स्थानीयहरूको दाबी छ ।
विज्ञहरूका अनुसार यस्तो अवैध कारोबारले राज्यको राजस्वमा ठूलो क्षति पु¥याउनुका साथै स्वास्थ्य, सुरक्षा र स्थानीय बजार व्यवस्थापनमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । खुला सीमा, सीमित जनशक्ति, कमजोर निगरानी प्रणाली तथा निकायहरूबीच समन्वय अभावका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ ।
सिरहामा भएको पछिल्लो बरामदगीलाई केवल एउटा घटना मात्र नभई सीमावर्ती क्षेत्रमा फैलिँदै गएको संगठित तस्करी सञ्जालको संकेतका रूपमा हेरिएको छ । सरोकारवालाहरूले प्रभावकारी निगरानी, पारदर्शी संयन्त्र र निरन्तर कडाइका साथ कारबाही नगरे अवैध व्यापार अझ मौलाउने चेतावनी दिएका छन् ।
स्थानीयहरूको माग स्पष्ट छ—“तस्करी नियन्त्रणमा देखावटी अभियान होइन, परिणाममुखी र निरन्तर कारबाही आवश्यक छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय